बीबीसी । चीनले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएको छ । यसलाई दुई देशबीच जारी व्यापारिक वार्तामा प्रगतिको संकेतको रुपमा लिइएको छ । चीनले डिसेम्बर महिनामा भएको जीट्वान्टी को सम्मेलनमा अमेरिकासँग भएको महत्वपूर्ण सहमतिलाई कार्यन्वयनमा ल्याउन काम गर्न इच्छुक रहेको बताएको छ ।अर्जेन्टीनाको राजधानी व्युनस आयर्समा भएको सम्मेलनमा ती दुई देशले वार्ताको लागि वातावरण बनाउको लागि ९० दिनसम्म कुनै नयाँ भन्सार कर नलगाउने सहमति गरेका थिए । शनिबार एक ट्विट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘वार्ता एकदम राम्रोसँग अगाडि बढिरहेको’ बताएका थिए । चिनियाँ विदेशमन्त्रीका प्रवक्ता लु काङबाट शनिबार आएको वक्तव्य हेर्दा ट्रम्पको आशा सही देखिन्छ ।
“चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यन्वयन गर्न अमेरिकासँग काम गर्न तयार छौं । साथमा आपसी फाइदाको अधारमा सहकार्य विस्तार गर्ने, आपसी सम्मानको अधारमा भिन्नता मिलाउन तयार छौं ,” लुले भने । अर्जेन्टिनामा भएको जीट्वान्टी वैठक अघि अमेरिकाले थप २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा २५% भन्सार कर लगाउनेबारे सोचिरहेको बताइएको थियो । यो दर प्रारम्भमा भनिएको १० प्रतिशत दरभन्दा दोब्बरभन्दा बढी हो । ह्वाइट हाउसले उक्त भंसार कर चीनको अनुचित व्यापार नीतिको विरोधमा भएको भन्छ । ट्रम्प यसले चीनसँगको व्यापारमा अमेरिकाले ठूलो व्यापार घाटा व्यहोर्नु परेको आरोप लगाउछन् ।
व्यापार युद्ध पृष्ठभूमि
ट्रम्पले आफ्नो राष्ट्रपतिको चुनावी अभियानमा अमेरिकाको पक्ष व्यापार निष्पक्ष बनाउने बाचा गरेका थिए । उनले बारम्बार चीनको व्यापार अभ्यासले गर्दा अमेरिकी निर्माताहरुले प्रतिस्पर्धा गर्न नसकेको आरोप लगाए । उनी राष्ट्रपति भएपछि अमेरिकाले कयैन चिनियाँ सामाग्रीहरुमा भंसार कर लगायो । यसमा हातेझोला र चामलजस्ता उपभोग्य सामाग्रीदेखि औधोगिक बस्तुहरु रह्यो । जुलाईदेखि यता विभिन्न समयमा अमेरिकाले २५० अमेरिकी डलर बराबरको चिनियाँ सामाग्रीमा भंसार कर लगाइसकेको छ । जवाफमा चीनले ११० अमेरिकी डलर बराबरको अमेरिकी सामाग्रीमा भंसार कर लगायो । भंसार करले अन्तत अमेरिकी कम्पनीहरुलाई लागत मुल्य बढायो । विज्ञहरुका अनुसार हालसालैको हप्तामा बजारले झेल्नु परिरहेको दबाबको एक कारक यो पनि हो । पछिल्ला हप्तामा विकसित घटनाक्रमव्यापार युद्ध सुरु भएपछि डिसेम्बरको प्रारम्भमा पहिलो पटक सी र ट्रम्पले व्युनस आयर्समा भएको जी२०को सम्मेलनपछि भेटवार्ता गरे । सोही भेट पछिनै अमेरिकाले आफूले पहिले भनेजस्तो जनवरी १ मा चिनियाँ सामाग्रहरुमा लागिरहेको भंसार कर १० प्रतिशतबाट २५ प्रतिशत नबढाउने बताए । अमेरिकाले बताए अनुसार चीनले यो अवधिमा‘धेरै ठूलो’ मात्राको कृषि, औद्योगिक र उर्जा सामाग्री किन्नेछ । तथापी सम्झौताका सबै बुदामा कुरा मिलेको छैन । दुवै राष्ट्रको वार्ताकार पछिल्ला हप्ताहरुमा एक अर्कासँग नियमित सम्पर्कमा छन् तर दुई पक्षका वार्ताकारबीच प्रत्यक्ष कुराकानी भने जनवरीमा हुनसक्छ ।












