अझै भेटिएनन् मालारानी २ का अध्यक्ष विनोद

प्रकाशित मिति:

१६ दिनदेखि हराइरहेका मालारानी गाउंपालिका वडा न २ का वार्ड अध्यक्ष विष्णु प्रसाद भुषाल( विनोद)को अहिलेसम्म पनि पत्तो नभएपछि प्रहरी प्रशासन र सरकारले उनको खोजीमा चांसो नदिएको उनका आफन्तले गुनासो गरेका छन् ।
४१ वर्षीय विनोद गत पुस २ हराएका थिए । लगत्तै आफन्तले प्रहरी प्रशासनलाई खबर गरे पनि उनको अवस्थाबारे केही पत्ता लागेको छैन । आफन्तले खोजी कार्य तीव्र नभएको भन्दै तदारुकता देखाउन माग गरेका छन् । उनका आफन्तले बुटवलमा पत्रकार सम्मेलन गरी स्थानीयसँगै संघ, प्रदेश तथा प्रहरीसँग खोजीका लागि आग्रह गरेका हुन् ।

विष्णुका दाजु जीवलाल भुसालले जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले हराएका जनप्रतिनिधिको खोजतलासमा गम्भीरता नदेखाएको गुनासो गरे ।भुसाल पुस २ गते वडा कार्यालयकै मोटरसाइकलमा घरबाट सन्धिर्खक जान भनी निस्केका थिए । त्यसपश्भचात गुन्टेखोलाको ग्यारेजमा मोटरसाईकल सर्भिसिङमा दिएर उनी गोरुसिंगे जाने भनेर हिंडेको परिवार श्रोतले जनाएको छ । पुस ४ गते वडाकै एकजनाले फोन गर्दा भुसालको मोबाइल एक गाडीका चालक सन्तोष भुसालले उठाएका थिए । गाडीचालकले मोबाइल गाडीमा छुटेको तर मान्छे गोरुसिंगेमै ओर्लेको जानकारी गराए पनि त्यसपछिको अवस्थाबारे कुनै जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख डीएसपी नवराज मल्लले बताए ।उनको खोजतलासका लागि सम्बन्धित निकायमा हुलिया र फोटोसहित पत्राचार गरिएको जानकारी पनि उनले दिए ।

विष्णुका दाजु जीवलालका अनुसार गाउँमै फर्निचर उद्योगसमेत सञ्चालन गरिरहेका उनको घरपरिवार, साथीभाइ कसैसँग कुनै विवाद, झगडा थिएन । उनी स्थानीय चुनावअघि तत्कालीन माओवादी केन्द्रमा थिए । चुनावका बेला तत्कालीन एमालेमा प्रवेश गरेर उनले वडा अध्यक्षको पद जितेका थिए ।