व्यवसायीको पीडामा मलम लगाउदै उबासंघ बर्दघाट, आगलागीबाट क्षति भएको ब्यवसायलाई राहत प्रदान

प्रकाशित मिति:

प्रकाश न्यौपाने

जेष्ठ ११ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित एम एस पावर टुल्स स्पेयर पार्ट्स तथा इलेक्ट्रीकल पसलमा भएको आगलागी पीडितलाई उद्योग वाणिज्य संघ बर्दघाटले राहत प्रदान गरेको छ।

वि.सं. २०८२ साल बैशाख २१ गते विद्युत सर्ट भएर भएको आगलागीमा पसल सञ्चालक दिपेन्द्र प्रसाद गुरौँको करिब पाँच लाख रुपैयाँ बराबरको नोक्सानी भएको थियो। पीडित गुरौँले समस्याको बेला संघले राहत उपलब्ध गराउँदा आफूले घाउमा मलम पाएको अनुभव भएको बताउनु भयो ।


संघका वरिष्ठ उपाध्यक्ष एवं राहत कोष संयोजक तारा प्रसाद गौतमले संघले व्यवसायीहरुमाथि आइपर्ने विपत्तिमा सहयोग गर्न राहत कोष स्थापना गरिएको उल्लेख गर्दै कोषलाई एक करोड रुपैयाँसम्म विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो । संघले स्थापना गरेको राहत कोषबाट यो पहिलोपटक राहत वितरण गरिएको हो। ब्यवसायी साथीहरुको दुख र सुखमा उद्योग बाणिज्य संघसंगै रहने गरि काम गर्ने पर्यत्न गरिएको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो ।


राहत वितरण कार्यक्रममा बर्दघाट नगरपालिका–४ का वडा अध्यक्ष बेदबिना तिवारीले संघले व्यवसायी साथीहरुको पीडामा मलम लगाउने कार्य गरेको प्रशंसा गर्नु भयो । संघले आगामी दिनमा पनि यस्तै ब्यवसायीहरुलाई हरपल साथ र सहयोग गर्नु पर्नेमा तिवारीले जोड दिनु भयो ।


राहत बितरण कार्यक्रममा उद्योग वाणिज्य संघ बर्दघाटका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।