चापाकोट नगरपालिकाद्वारा संचालित निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको समापन

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी चापाकोट – चापाकोट नगरपालिकाद्वारा संचालित निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको आज एक कार्यक्रमका बीच समापन गरिएको छ। जेठ १७ गतेदेखि शुरु भएको यो तयारी कक्षामा ३१ जनाको सहभागिता रहेको थियो भने कूल ३२ वटा कक्षा संचालन गरिएको थियो।

समापन कार्यक्रमको अध्यक्षता नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) ले गर्नुभयो। कार्यक्रममा उहाँले नगरपालिकाले पहिलोपटक संचालन गरेको यस्तो निशुल्क तयारी कक्षा सफल भएको बताउँदै आगामी वर्षहरुमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता जनाउनुभयो। साथै, तयारी कक्षाबाट विद्यार्थीको क्षमता विकास हुनुका साथै बाहिर गएर अध्ययन गर्नुपर्ने बाध्यता हटेकोमा सन्तोष व्यक्त गर्दै उहाँले सहभागी विद्यार्थीहरूलाई शिक्षक सेवा आयोगमा सफलताको शुभकामना दिनुभयो।

कार्यक्रममा नगर उपप्रमुख इशा रानाले महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिनु सुखद पक्ष भएको बताउँदै यस्ता कार्यक्रमले समावेशीता र आत्मविश्वास वृद्धि गर्ने उल्लेख गर्नुभयो।

तयारी कक्षा विभिन्न विषयका विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। सहजीकरण गर्नेहरूमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका सुरेश सुवेदी, जिल्ला प्रशासन कार्यालयका सूर्य प्रसाद शर्मा, चापाकोट नगरपालिकाको शिक्षा शाखा प्रमुख इन्दु भेटवाल, विनु प्रसाद पराजुली र ढाकाराम भट्टराई रहेका थिए।

कार्यक्रमको सञ्चालन प्रेमनारायण रेग्मीले गर्नुभएको थियो।