पुस २१/ बर्दघाट
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानी जंगलमा मृत अवस्थामा भेटिएकी कमला चौधरीको हत्या उनको आफ्नै श्रिमानले गरेको पुष्टी भएको छ । मृतक कमलाका श्रीमान सुनिल चौधरीले पारिवारिक मनमुटावका कारण आफ्नी श्रीमति कमलाको हत्या गरेको प्रहरीमा बयान दिएका छन । गत पुस ४ गते श्रीमान सुनिलसँगै जंगलमा घाँसदाउरा खोज्न गएको वेला बेपत्ता भएकी श्रीमति कमला चौधरीलाई श्रीमान् चौधरीले श्रीमती जंगलमा हराएको र खोज्दा नभेटिएको भन्दै घर फर्किएका थिए । त्यस लगत्तै सुनिल, परिवारका अन्य सदस्य र छिमेकी समेत खोजी गर्न पुनः जंगल गएपनि श्रीमति कमला फेला नपरेको सुनिलले बताएका थिए ।
परिवारले अन्य ठाउँमा पनि खोजी गर्दै सञ्चारमाध्यममा समेत कमला हराएको सूचना प्रसारण गरेका थिए तर पनि कमलाको पत्ता लागेको थिएन । गत पुस १७ गते १३ दिनपछी चिसापानी जंगलमा घाँसदाउरा गर्न गएका बेला स्थानिय महिलाहरूले एक महिलाको शव देखेपछि सो को खबर गाउँले र प्रहरीलाई गरेका थिए । खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलको मुचुल्का उठाएर गत पुस १८ गते बुधबार उक्त शवको पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा पठाएको थियो । घटनास्थलमा शवको प्रकृति हेर्दा कसैले हत्या गरेको जस्तो प्रकृतिमा देखिएको र शरीरको अर्धनग्न अवस्थामा शव फेला परेपछी प्रहरीले उनका श्रीमान् सुनिललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो । अनुसन्धानका क्रममा सुनिलले श्रीमति कमलाको हत्या आफैँले गरेको स्वीकार गरेका छन ।
उनले आपसी मनमुटावका कारण श्रीमतीको हत्या गरेको प्रहरीको बयानका क्रममा बताएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) का प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । करिब १४ वर्षको उमेरमा प्रेम विवाह गरेको सुनिल र कमला बीच पछिल्लो समय मनमुटाव सुरु भएको थियो। सुनिलले विगतका दिनहरुमा कमलाले गर्ने गरेको प्रत्येक क्रियाकलापहरु प्रति शंका गर्दै आएका थिए । उनीहरूबीच समय–समयमा झगडा समेत हुने गरेको प्रहरी बयानमा बताउदै सुनिलले गत पुस ४ गते आफूले श्रीमतीलाई फकाएर जंगल लगेको र त्यहीँ हत्या गरेको खुलासा गरेका छन । पुस १७ गते शव भेटिएपछि मृत्यु शंकास्पद देखिएको भन्दै परिवारजनसँग प्रहरीले प्रतिक्रिया समेत लिएको थियो। घटना लुकाउनका लागि गरिएको प्रयास प्रहरीको गम्भीर अनुसन्धानका कारण सफल हुन नसक्दा प्रहरीले घटनाको प्रकृति हेरीसकेपछि सुनिललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। प्रहरी अनुसन्धानका क्रममा सुनिलले पारिवारिक मनमुटावकै कारण कमलाको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।










