
युरोपभर गुञ्जियो स्याङ्जाली एकताको स्वर: बेल्जियममा दोश्रो युरोप भेला २०२५ भव्य रूपमा सम्पन्न
बेल्जियममा स्याङ्जा सहयोग समाज युरोपको आयोजनामा “भातृत्व, भाइचारा र सद्भावको राज, युरोपमा स्याङ्जाली एकताको आवाज” भन्ने मूल नाराका साथ दोश्रो युरोप भेला २०२५ भव्य र सफल रूपमा सम्पन्न भयो। युरोपभर छरिएर रहेका स्याङ्जालीहरूलाई एउटै मञ्चमा एकत्रित गर्दै गरिएको यस भेलाले अन्तर्राष्ट्रिय स्तरमा स्याङ्जाली समुदायको सशक्त उपस्थिति जनाउनुका साथै आपसी एकता, सहयोग र सांस्कृतिक सम्बद्धतालाई अझ सुदृढ बनाएको छ। भेलाबाट विभिन्न महत्वपूर्ण निर्णयहरू पनि पारित गरिएका छन्, जसअनुसार अन्तर्राष्ट्रिय समन्वय समितिका दीर्घकालीन लक्ष्यअनुरूप कार्यक्रम र गतिविधिहरूलाई निरन्तरता दिने, स्याङ्जाका विद्यार्थीहरूका लागि शैक्षिक उन्नयन, सुधार तथा दक्षता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने र आवश्यकतानुसार अन्तर्राष्ट्रिय समन्वयमा काम गर्ने निर्णय गरियो।
युरोपमा हाल सक्रिय ६ वटा राष्ट्रिय समन्वय समिति (एन.सी.सी.) — बेल्जियम, पोर्चुगल, फ्रान्स, स्पेन, नेदरल्याण्ड र युके — मा थप पाँच नयाँ एन.सी.सी. गठन गर्ने निर्णय गरियो, जसअन्तर्गत फिनल्याण्डमा सुशील पोखरेल, हंगेरीमा सागर कुँवर, डेनमार्कमा इन्द्र पनेरु, जर्मनीमा निलम सिंजाली मगर, र क्रोएसियामा आई.सी.सी. सचिव ओम पोखरेलको संयोजकत्वमा एन.सी.सी. विस्तार गरिनेछ। साथै, युरोपभर रहेका दोस्रो पुस्ताका नेपाली सन्ततिहरूलाई भाषा, संस्कृति, परम्परा, चलनचल्ती, साहित्य आदिबारे जानकारी गराउन र नेपालीपनलाई जगेर्ना गर्न ‘नेपाली पाठशाला युरोप’ सञ्चालन गरिने निर्णय गरियो, जसको संयोजक एम.पी. अर्याल रहनेछन्। यस्ता पाठशालाहरू युरोपभरिका नेपाली संस्थाहरू सँग समन्वय गरेर सञ्चालन गरिनेछन्। साथै, हरेक वर्ष विभिन्न एन.सी.सी.को आतिथ्यमा यस्ता भेलाहरूलाई निरन्तरता दिँदै भातृत्व, भाइचारा र सद्भावको सन्देश फैलाउने निर्णय पनि गरिएको छ। यो भेला युरोपस्थित नेपाली समुदाय, विशेषगरी स्याङ्जालीहरूका लागि ऐतिहासिक उपलब्धिको रूपमा मूल्याङ्कन गरिएको छ।