भरत प्रधान
लिस्बन, ३० असार । धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगितााको उपाधि भिजन स्पोर्ट्स क्लबले हात पारेको छ ।
लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा ड्रिप सिटी ब्वाइजलाई २–१ को गोल अन्तरले पराजित गर्दै भिजन स्पोर्ट्स क्लबले दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेसँगै क्लबले नगद पाँच हजार युरो, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता ड्रिप सिटीले दुई हजार ५०० युरो नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सो अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगितामा युरोपका विभिन्न मुलुकका नेपाली सङ्घसंस्था र क्लबका गरी २० टोलीको सहभागिता रहेको क्लबका संयोजक अरुण राईले बताए ।












