बिरेन थापा
बुडापेस्ट । गैरआवासीय नेपाली संघ (एनआरएन) हंगेरीको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
हंगेरीको राजधानी बुडापेस्टमा सम्पन्न भएको अधिवेशनले नारायणप्रसाद भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षे (२०२५-२०२७) कार्यकालका लागि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. राम रोक्का र उपाध्यक्षमा अशोक लकान्द्री निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले संघको महासचिवमा सञ्जय कार्की लाई सर्वसम्मत चयन गरेको छ । भने सचिवमा राजन प्रसाद तिमल्सिना, कोषाध्यक्षमा लीलाधर भण्डारी (बिनोद) र सह–कोषाध्यक्षमा जीवन कामी निर्वाचित भएका छन् ।
संघको महिला संयोजकमा सुनिता बस्नेत रोक्का र युवा संयोजकमा विनोद बाबु कडायत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा हिरा दमाई, बाल मुकुन्द भण्डारी, बिरेन्द्र थापा, विकास बज्राचार्य र विद्यार्थी प्रतिनिधिमा सनम शेर्पा निर्वाचित भएको संघले जनाएको छ ।
सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव भीम कमल केसीले आप्रवासी नेपालीहरूको हकहित, नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र नेपाल–हंगेरी बीचको सम्बन्ध सुदृढ गर्न संघको भूमिका महत्वपूर्ण हुने बताए। नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद भण्डारीले आफू नेतृत्वको कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय कलाकार आकाश धैजु को “जसो गर जे गर जतासुकै लैजाउ मलाई” गीतले माहोल झनै रमाइलो बनाएको थियो।
आईसीसी सचिव भीम कमल केसीको प्रमुख आतिथ्यता, आईसीसी सदस्य प्रदीप घिमिरेको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा हंगेरीस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम राजनप्रसाद तिमल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियोे ।










