प्रकाश न्यौपाने
कार्तिक १८ गते
नवलपरासी । ससारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको ११औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण तथा निवर्तमान समितिलाई बिदाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले उपभोक्ता मैत्री भएर नवनिर्वाचित समितीलाई काम गर्नु पर्नेमा बताउनु भयो। व्यवहारी मात्रै होइन कानुनी दायरालाई समेत हेरेर नयाँ समितिले काम गर्नु पर्नेमा श्रेष्ठले जोड दिनु भयो ।
बर्दघाट सरावल सब-डिभिजन वन कार्यालयका प्रमुख बलराम पोखरेलले वन व्यवस्थापनमा पारदर्शिता अत्यावश्यक रहेको उल्लेख गर्दै प्रत्येक रुखको विवरण जीपीएस सिस्टममार्फत रेकर्ड गर्नुपर्ने बताएका थिए। उनले वन ऐन, नियमावली तथा सरकारी परिपत्रहरूको पालना गर्दै काम गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी वडा नं. ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले वनको कार्ययोजना निर्माणका क्रममा जनप्रतिनिधिहरूसँग समन्वय गरेर अघि बढ्न आग्रह गर्दै वनभित्रको पर्यावरण, पर्यटन र पैदावारका विषयहरू अत्यन्तै संवेदनशील रहेको बताए।
निर्वाचन समिति संयोजक बालिन्द्र बिक्रम शाहीले केही पदहरू सर्वसम्मत र केहीमा प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गरिएको जानकारी दिँदै सम्पूर्ण प्रतिनिधि, राजनीतिक दल र सामाजिक व्यक्तित्वलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले नयाँ कार्यकालमा एकताबद्ध भएर अगाडि बढ्ने शुभकामना व्यक्त गरे।
निवर्तमान अध्यक्ष कमल पराजुलीले उपभोक्ताहरूको भावना अनुसार जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिंदै अनुभव आदानप्रदान गरेर अगाडि बढ्ने सुझाव दिए। कार्यक्रममा बर्दघाट वडा नं. ८ का अध्यक्ष कबिराज आचार्य, पूर्व अध्यक्षहरू कुलपति पौडेल, बाबुराम रिजाल, मदनबहादुर शाहीलगायतको उपस्थिती रहेको सह सचिब रामजी चापागाईंले जानकारी दिनु भयो ।
कार्यक्रमम अवसरमा नवनिर्वाचित कार्यसमिति र लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रमको सञ्चालन सचिव दिलकुमारी सुनारले गर्नुभएको थियो।










