१६ बर्षको उमेरदेखी पत्रकारितामा लागेका दाङका गणेश आचार्य हाल जनता टेलिभिजनमा कार्यरत छन् । १८ बर्षमै टेलिभिजन स्क्रिनमा देखिएका उनीसँग छापा,अनलाईन र टेलिभिजन पत्रकारिताको ज्ञान छ । यसपटकको चौथो अंगमा हामीले उनै पत्रकार आचार्यसँग कुराकानी गरेका छौँ ।
पत्रकारितामा कसरी आउनुभयो ?
अधिकांश मान्छेहरु लहड र लहरमा पत्रकारितामा आएका हुन्छन् । पछी पत्रकारिता उनीहरुलाई अप्ठेरो ठाउँको पिलो भइदिन्छ । न उनीहरु पत्रकारितामा जम्न सक्छन्,न छाङ्न नै । त्यसैले पनि हाम्रो देशको पत्रकारिता कमजोर भएको छ । तर,मेरो हकमा भन्नुहुन्छ भने,म पहिले अधिवक्ता बन्न चाहान्थे,पहिलो रोजाई मेरो ल पढ्नु थियो । २०६५ सालमा एसएलसीको नतिजा आएपछी म ल पढ्न भनेर सदरमुकाम घोराही गएँ । तर,ल बिषय पढ्ने कलेज भेटिन । अनि पत्रकारिता पढ्न थाले । पत्रकारिता पढ्न थालेपछी पत्रकारिता नै गर्नुपर्छ भन्ने म मेन्टली रुपमा तयार थिँए । ११ मा पढ्दा पढ्दै रेडियो मध्यपश्चिमको समाचार कक्षमा काम गर्ने अवसर पाँए । समयले मलाई १२ पढ्न काठमाण्डौ पु¥यायो । जनमैत्री कलेज कुलेश्वरमा पढ्न थालेँ । त्यहाँ पढ्दापढ्दै एबीसी टेलिभिजनमा डेस्क रिपोर्टर भएर काम गर्न सुरु गरेँ । सानो र काँचो उमेरमा टेलिभिजनको स्क्रिनमा देखिने मौका मिलेपछी म पत्रकारिताको महासागरमा पौडिरहेको छु ।
पत्रकारितामा चुनौती कति खेप्नुभएको छ ?
पत्रकारिता आफैँमा चुनौतीपूर्ण पेशा हो । समाचार लेखेपछी दुष्मण त बढिनै हाल्छन् । मैले समाचार लेखेकै कारण टेलिभिजन,रेडियो र पत्रिकाका कार्यालय घेरिएका छन् । कहिलेकाँही गलत आरोप पनि पत्रकारलाई लगाइन्छ । तर, म चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्दै अघी बढीरहेको छु ।
अहिलेसम्म कुन कुन मिडियामा काम गर्नुभयो ?
मैले जनधारणा साप्ताहिकबाट पत्रकारिता सुरु गरेको हुँ । त्यतिबेला म नौ कक्षामा पढ्थेँ । पछी दाङको रेडियो मध्यपश्चिममा संम्वाददाता भएर काम गरेँ । एबीसी टेलिभिजनमा डेस्क रिपोर्टर भएर काम गरेँ । उमेरले १८ बर्ष थिँए । त्यतिबेला मैले जनता जिन्दावाद कार्यक्रम पनि चलाउँथे । छी दाङ फर्केर रेडियो हाम्रो पहुँच र रेडियो सर्युगंगाको सम्पादक भएँ । फेरि काठमाण्डौ गएर माउन्टेन टेलिभिजनमा काम गर्न सुरु गरेँ । माउन्टेन टेलिभिजनको लोकप्रिय कार्यक्रम मिसन न्युजको संस्थापक मध्येको म पनि एक हुँ । म सँगै महेन्द्र भट्टराई,गणेश पाण्डे,तिर्थ भण्डारी र रमण पौडेलले मिसन न्युज सुरु गरेका हौँ । मसँग नागरिक दैनिक र सेतोपाटी डटकममा सम्वाददाताको रुपमा काम गरेका अुनभव पनि छ । पछील्लो समय दाङको रेडियो प्रकृतीमा सम्पादक भएर पनि काम गरेँ । आजभोली जनता टेलिभिजनको दाङ सम्वाददाता भएर काम गरिरहेको छु भने आफ्नै लगानीमा दाङबाट प्रदेश अनलाईन डटकम संचालनको तयारीमा छु ।
पत्रकारिता पेशामा लाग्दा के पाउनुभयो ? के गुमाउनुभयो ?
बडा गज्जबको प्रश्न गर्नुभयो । म केही पाउने र गुमाउनेगरी पेशामा आएको होइन । म पत्रकारिता पेशासँग पुर्णरुपमा सन्तुष्ट छु । केही गुमाएको छैन् । पत्रकारितामा सुरु गरेको १० बर्ष पुग्यो । यो समयमा मैले गुमाएको भनेको व्यक्तिगत जीवन र जवानी हो । जवानीमा अरुको जस्तै प्रेमिकाको हात समातेर घुम्ने मेरोपनि रहर नभएको त कहाँ हो र ? तर,मेरो पेशाको गरिमालाई ख्यागर्दै त्यस्तो गर्न सकिन । मनका रहर मनमै गुम्सीरहे । पत्रकारिता लागेर मैले इज्जत पाएको छु । मेरो पेशाका कारण मेरो आमाबुवा र इष्टमित्रको समेत शीर ठाडो भएको छ । त्यसैले मलाई मेरो पेशाप्रती गर्व छ ।
पत्रकारितामा आउन चहाने नयाँ पुस्तालाई के भन्न चहानुहुन्छ ?
मेरो भाई पुस्तालाई मेरो अनुरोध ।‘पत्रकारिता रहरले गर्ने पेशा होइन । टिक्न गाह«ो हुने पेशा हो । यदि यो पेशामा आउने हो भने पत्रकारिताका बारेमा गुगलमा सर्च गरेर अध्यन गर्नुहोस्,दाई पुस्ताका पत्रकारसँग सरसल्लाह गर्नुस् । यतिगर्दा तपाई पत्रकारितामा आउने निचोडमा पुग्नुभयो भने पत्रकारिता बिषय पढेर मात्रै यो पेशामा आउनुस् ।
पत्रकारितामा लाग्दा कुनै अबिष्मरणीय क्षण छन् ?
मेरोलागी पत्रकारिताका हरेक दिन अविष्मरणीय लाग्छन् ।
कुन बिटमा कलम चलाउन मनपराउनु हुन्छ ?
समाचार लेख्नु हाम्रो दैनिकी नै भयो । तर,बिशेषगरी अपराध र सुशासनमा बिषयमा कलम चलाउँछु । फिचर लेख्नु मेरो सौख हो ।












