पुनहरि बेल्बासे- लुम्बिनी । लुम्बिनीमा आयोजना गरिएको न्युज फेस्टिवल २०८२ आइतबार भव्य रूपमा उद्घाटन भएको छ। फेस्टिवलको औपचारिक शुभारम्भ शनिबार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी गरिएको हो। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले पत्रकारिता, शान्ति, संस्कृति र क्षेत्रीय सहकार्यलाई केन्द्रमा राखेको छ। कार्यक्रमअन्तर्गत आइतबार मिडिया बहस भएको छ भने सोमबार पर्सा चोकदेखि मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा आयोजना गरिने आयाेजकले जानकारी दिएका छन्। न्युज फेस्टिवलमा नेपाल र भारतका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतका पत्रकारबीच हुने यस्ता कार्यक्रमले दुई देशको उन्नति र आर्थिक समृद्धिमा सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले पत्रकारितामार्फत आपसी समझदारी बढ्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए। मुख्यमन्त्री आचार्यले नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक विषयमा गहिरो सामिप्यता रहेको उल्लेख गर्दै साझा सभ्यताको प्रवर्द्धनका लागि धार्मिक स्थलहरूको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चार क्षेत्रप्रति राज्यले हेर्ने दृष्टिकोण फरक रहेको धारणा राखिन्। उनले सत्य र तथ्यमा आधारित समाचार लेख्नका लागि डराउनु पर्ने अवस्था नरहेको बताउँदै पत्रकारहरूले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितालाई आत्मसात् गर्नुपर्नेमा जोड दिइन्। प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले पेशागत मर्यादामा रहेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।उक्त कार्यक्रममा सिद्धार्थनगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले लुम्बिनी क्षेत्र शान्ति र सहअस्तित्वको प्रतीक भएको बताउँदै यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान थप सुदृढ बनाउने धारणा राखे। लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठले लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वबारे चर्चा गरे। त्यसैगरी लुम्बिनी प्रदेशका सांसद सिके गुप्ता, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीलगायतले पनि मन्तव्य राख्दै न्युज फेस्टिवलको सफलताको कामना गरेका थिए। आयोजकका अनुसार न्युज फेस्टिवल २०८२ ले पत्रकारहरूबीच अनुभव आदान–प्रदान, आपसी सहकार्य र शान्तिको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।












