१७ पुस, कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्रको आर्थिक वर्ष २०८१र८२ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम बुधबार एक कार्यक्रमका बीच तौलिहवामा सम्पन्न भएको छ। सामाजिक परीक्षणमार्फत कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके र बर्दियामा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति, बजेट, उपलब्धि र चुनौती सार्वजनिक गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले गैरसरकारी संस्थाले सार्वजनिक निकायसँग सहकार्य गर्दै पारदर्शी रूपमा काम गर्नुपर्ने बताउनुभयो। शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा संस्थाको योगदानको प्रशंसा गर्दै आगामी सहकार्य सुदृढ गरिने बताउनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले सामाजिक परीक्षणले जनउत्तरदायित्व र विश्वास अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो। एक्सन एडका प्रतिनिधि प्रेमबहादुर चौधरीले संस्थाले विभिन्न साझेदारसँग मिलेर १५ जिल्लामा श्रमिक अधिकार र पछाडि पारिएका समुदायको सशक्तीकरणमा काम गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईं, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पान्डे, संस्थाका सचिव दुर्ग अर्याल, पत्रकार हरि अधिकारी लगायतले सामाजिक परीक्षणले पारदर्शिता र उत्तरदायित्व बढाउने धारणा व्यक्त गरेका थिए। साथै सामाजिक परिक्षणलाइ प्राथिमकता दिएर संघ संस्थाले काम गर्नुपर्ने धारण राख्नुभएको थियो । त्यस्तै सामाजिक परिक्षण्का सहजकर्ता एंव पत्रकार अमृता अनमोलले संस्थागत कमीकमजोरी,नीतिगत अस्पस्टता, दिगोपना र समावेशीलाइआगामी दिनमा ध्यानदिनुपर्ने बताउनु भएको थियो । संस्थाका अध्यक्ष तिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्षभरिका गतिविधि र खर्च विवरण प्रस्तुत गर्दै सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो।
२०५२ सालमा स्थापना भएको संस्थाले हाल समावेशी शिक्षा, बालअधिकार, दिगो जीविकोपार्जन, सामाजिक न्याय, स्वास्थ्य र सुशासनका क्षेत्रमा कार्य गर्दै आएको छ।












