राप्ती–४ गैंडाढापमा आशुतोष महादेव मन्दिरको समुद्घाटन तथा प्राणप्रतिष्ठा भव्य रूपमा सम्पन्न
प्रकाश न्यौपाने
चितवन, फागुन ३ – राप्ती नगरपालिका–४ गैंडाढापस्थित श्री जय हरिकीर्तन मण्डप परिसरमा निर्माण गरिएको भगवान आशुतोष महादेव मन्दिरको समुद्घाटन तथा प्राणप्रतिष्ठा समारोह महाशिवरात्रिको पावन अवसरमा भव्य रूपमा सम्पन्न भएको छ।
२०८२ साल फागुन ३ गते आयोजित समारोहमा हरिहर आश्रम, देवघाटका पिठाधीश स्वामी ज्ञानानन्द सरस्वतीले विधिपूर्वक मन्दिरको समुद्घाटन तथा प्राणप्रतिष्ठा सम्पन्न गर्नुभएको हो।
सुर्की, चुना र काठजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरी वास्तुशास्त्रीय विधिअनुसार निर्माण गरिएको उक्त मन्दिर सम्भवत: नेपालमै भगवान आशुतोष महादेवको विशिष्ट संरचनाका रूपमा रहेको आयोजक समितिले जनाएको छ। मन्दिरको संरचनामा परम्परागत नेपाली शैली, मौलिक काष्ठकला र धार्मिक आस्थाको समन्वय झल्किएको छ।
समारोहअन्तर्गत १२१ जना ब्राह्मण तथा कर्ताहरूको सहभागितामा वैदिक विधिअनुसार महारुद्राभिषेक, अखण्ड हवन, वेदपाठ, चण्डीपाठ, जप, लाखबत्ती प्रज्ज्वलन तथा भजन– कीर्तनलगायतका धार्मिक अनुष्ठान सम्पन्न गरिएका थिए। बिहानदेखि सुरु भएको पूजाआजा र अनुष्ठान साँझसम्म निरन्तर सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।
प्राणप्रतिष्ठा सम्पन्न भएसँगै मन्दिर सर्वसाधारण भक्तजनका लागि औपचारिक रूपमा खुला गरिएको छ। कार्यक्रममा हजारौँ श्रद्धालु, स्थानीयवासी तथा विभिन्न क्षेत्रका धर्मप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजक समितिका अनुसार महाशिवरात्रिको दिन प्राणप्रतिष्ठा सम्पन्न हुनु धार्मिक दृष्टिले अत्यन्त शुभ मानिन्छ।

समारोह शान्त, सुव्यवस्थित र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। मन्दिर निर्माणसँगै राप्ती क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। यसले स्थानीय स्तरमा धार्मिक गतिविधि विस्तार हुनुका साथै आर्थिक चलायमानता अभिवृद्धि हुने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ।












