फेदी मोहोरिया खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

शुष्मा वोस्ती-वालिङ,चैत २१-फेदी मोहोरिया खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितको साधारण सभा सम्पन्न भएको छ ।
वालिङ नगरपालिका वडा नं. १० मा रहेको संस्थाले ११ औं साधारण सभा सम्पन्न गरेको हो ।साधारणसभाका अवसरमा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र प्रसाद गैह्रे तथा पूर्व अध्यक्ष हिमनिधि पंगेनीलाई सम्मानित गरिएको छ ।संस्थाका अध्यक्ष सूर्य प्रसाद पौडेल, उपाध्यक्ष गुरु ढकाल र सचिव हरिनारायण डुम्रेले गैह्रे र पंगेनीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मानित गर्नु भएको हो ।२०७२ सालमा स्थापना भएको संस्थामा ८१ घरपरिवारका सदस्यहरुले खानेपानी उपभोग गर्दै आएका छन् । आर्थिक बर्ष २०६०÷६१ बाट नयाँ व्यवस्थापन सहित खानेपानी आयोजना सञ्चालन भएको थियो ।

कार्यक्रममा सल्लाहकार संयोजक राजेन्द्र प्रसाद गैह्रेले बढ्दो सहरीकरणसँगै खानेपानीका थप मूलहरुको खोजी गर्नु पर्नेमा जोड दिनुभयो । पहिलेका मूल र ट्याङ्कीले माग धान्न समस्या हुने भन्दै यसको छिट्टै व्यवस्थापन र खोजी गर्नु पर्नेमा उहाँको जोड छ ।
यस्तै पूर्व अध्यक्ष हिमनिधि पंगेनीले खानेपानीको व्यवस्थापनको लागि सवैले ध्यान दिनु पर्ने बताउनु भयो । पानी सहज जीवनको लागि पहिलो सर्त भएको भन्दै पंगेनीले ट्याङ्की मर्मत र नयाँ पाईप व्यवस्थापनमा जोड दिन आग्रह गर्नु भयो । संस्थाले निर्माण गर्न लागेको संरक्षण तथा मर्मत कोषमा पंगेनीले रु ५ हजार प्रदान गर्नु भयो ।कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद पौडलले एक बर्षमा भएका क्रियाकलाप र आगामी दिनमा गरिने योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।यस्तै सचिव हरिनारायण डुम्रेले प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष बसुन्धरा डुम्रेले कोषाध्यक्षको प्रतिबेदन पस्तुत गर्नु भएको थियो ।तत्कालिन जिल्ला विकास समिति मार्फत उपभोक्ताको लागत साझेदारीमा खानेपानी योजना निर्माण भएका थियो । पछिल्ला बर्षहरुमा वालिङ नगरपालिका र वडा अध्यक्ष सुनिल खनालले खानेपानीको व्यवस्थापनका लागि महत्वपूर्ण सहयोग गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।खानेपानी उपभोक्ता समितिका सहसचिव कल्पना गौतमका अनुसार चौबिसै घण्टा धारमा पानी आउनेगरी तयारी भईरहेको जानकारी दिनुभयो ।सिद्धार्थ राजमार्गले दुई भागमा छुट्याएको सो क्षेत्रमा उपभोक्ता स्तरबाट खानेपानीको सहज व्यवस्थापन गरिँदै आएको सचिव हरिनारायण डुम्रेले बताउनु भयो ।