बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम’ सम्पन्न, नेपाली कला र संस्कृतिको प्रदर्शन

प्रकाशित मिति:

लिस्बन, १५ वैशाख। स्पेनको बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागको सहकार्यमा आइतबार ‘नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको हो। विश्वप्रसिद्ध पर्यटकीय स्थल ‘साग्राडा फ्यामिलि’या परिसरमा आयोजित कार्यक्रममा नेपाली झण्डा फहराउँदै दौरा–सुरुवाल, ढाका टोपी तथा भादगाउँले टोपीमा सजिएका नेपालीहरूले मौलिक सांस्कृतिक प्रस्तुतीमार्फत वातावरणलाई झंकृत बनाएका थिए।

यस्तै चौबन्दी चोलो, गुन्यु–फरिया, हाकु पटासी, घलेक लगायतका नेपाली परम्परागत भेषभुषाका साथ नौगेडी, शिरफूल, तिलहरी, झुम्का र बुलाँकीजस्ता गहनामा सजिएका नेपाली दिदीबहिनीहरुले नेपाली संस्कृति र पहिचान प्रस्तुत गरेका थिए। नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरूले मौलिक गीत–संगीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै स्पेनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पुरक अधिकारीले नेपाली समुदायबीचको एकता र सांस्कृतिक पहिचान संरक्षणको आवश्यकता औंल्याउनुभयो। थोरै संख्यामा रहेको नेपाली समुदाय पछिल्लो समय ठूलो संख्यामा विस्तार भएको उल्लेख गर्दै उहाँले अब नेपाली समुदायबीचको एकता अझ आवश्यक रहेको बताउनुभयो। क्याटालोनिया संसदका सदस्य अर्नेस्टो क्यारियन साब्लिचले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता, सद्भाव र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले आप्रवासी नेपालीहरूको हितका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको कामना गर्नुभयो।

मञ्चका अध्यक्ष विशाल ढुंगानाले कार्यक्रमले विश्वमाझ नेपाली कला, संस्कृति र पहिचानको प्रचार–प्रसार गरेको बताउनुभयो। उहाँले कार्यक्रममा सहभागी सबै संघ–संस्था, नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास परिवार, कलाकार तथा दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र एकताको अपेक्षा गर्नुभयो। मञ्चका युरोप उपाध्यक्ष एवं संगठन विभाग प्रमुख गंगा भुषालले प्रवासी नेपालीहरूको सक्रियताले नेपालको पर्यटन विकासमा योगदान पुगेको उल्लेख गर्नुभयो। मञ्चका महासचिव धिरज शर्माले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो। सल्लाहकार दिनेश गिरिले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको बताउनुभयो।

मञ्चले सन् २०१७ देखि नयाँ वर्ष तथा दशैं–तिहारका अवसरमा वर्षमा दुई पटक यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने ब्रोसर तथा सूचना केन्द्रसमेत राखिएको थियो। कार्यक्रममा तमु समाज, मगर समाज, मोना स्पेन, तामाङ समाज, नेवार समाज तथा नेपाली पाठशाला परिवारले आ–आफ्नो भेषभूषासहित सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। कार्यक्रममा नेवारी कुमारीको उपस्थिति विशेष आकर्षणको केन्द्र बनेको थियो।
सो अवसरमा नेपालीहरूको हक–हित र श्रम शोषणविरुद्धको अभियान तथा रोजगारी प्रवर्द्धनमा योगदान पुर्‍याएका व्यक्तित्वहरू मञ्चका उपाध्यक्ष केशवराज कडेल, नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसरबहादुर थापा र सोनल पुनलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमका संयोजक गोविन्द अधिकारी, सल्लाहकार संयोजक कृष्णहरि कडेल तथा संरक्षक श्यामप्रसाद खनालको संयोजनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्पेनवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम नेपाली जनप्रगतिशील मञ्चका संरक्षक तथा युरोप सचिव अर्जुन आचार्य र कलाकार समी गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

थप समाचार