बुटवल उद्योग वाणिज्य संघले भन्यो – एमआरपी कार्यान्वयन गर्न स्पष्टता र समय चाहिन्छ
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले अधिकतम खुद्रा मूल्य एमआरपी सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि स्पष्टता, समय तथा समन्वयको आवश्यकतामा जोड दिएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचनाअनुसार विदेशबाट पैठारी गरी नेपालमा बिक्री वितरण गरिने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । तर संघले यस निर्णयप्रति ध्यानाकर्षण गराउँदै व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको बताएको हो ।संघले बिहिबार प्रेस विज्ञप्ती जारी गरेर तेस्रो मुलुकबाट आयात हुने मालवस्तु नेपाल आइपुग्न सामान्यतया ३० देखि १५० दिन लाग्ने र सूचना जारी भएको छोटो समयभित्र एमआरपी कार्यान्वयन गर्न कठिन हुने जानकारी गराएको छ । साना बजार, सीमित व्यवसायिक क्षमता तथा नियामक निकायबीच समन्वयको कमीका कारण व्यवसायीहरू अन्योलमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।संघका कार्यवाहक अध्यक्ष ९उद्योग उपाध्यक्ष० सुरज भट्टराईद्वारा जारी विज्ञप्तीमा एमआरपी कार्यान्वयन उपभोक्ताको हितमा भए पनि तत्कालै लागू गर्दा बजारमा असहजता सिर्जना हुने भएकाले क्रमिक रूपमा लागू गर्न सुझाव दिइएको छ । साथै सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी स्पष्ट मार्गनिर्देशन दिन र पर्याप्त समय उपलब्ध गराउन आग्रह गरिएको छ ।संघले भन्सार नाकामा आइपुगेका तथा बाटोमै रहेका सामानका हकमा आगामी आर्थिक वर्षको बजेटमार्फत समाधान खोजी हाललाई भन्सार जाँचपास सहज बनाइदिन समेत सरकारसँग अनुरोध गरेको छ ।












