बर्दघाटमा ‘हेल्दी बेबी कम्पिटिसन’ सम्पन्न, बालपोषणमा अभिभावक सचेतना बढाउने प्रयास

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख २२ गते

नवलपरासी । बर्दघाट नगरपालिका वडा नं. ९ को सहयोग तथा पञ्चनगर स्वास्थ्य चौकीको आयोजनामा ‘हेल्दी बेबी कम्पिटिसन’ कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्दै अभिभावकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


बर्दघाट ९ मा रहेको पन्चनगर स्वास्थ्य चौकीले बालबालिकाको पोषणसम्बन्धी विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरेको हो । कार्यक्रममा पोषण कर्नर स्थापना गरी विभिन्न जानकारीमूलक सामग्रीहरू प्रदर्शन गरिएको थियो। ६ महिनादेखि २३ महिनासम्म र २४ महिनादेखि ५९ महिना सम्मका दुई समूहमा बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कन गरिएको थियो। पहिलो समूह (६–२३ महिना)तर्फ रियान्सी बि.क. प्रथम, विविधता श्रेष्ठ द्वितीय र आर्षित बि.क. तृतीय भएका छन्। यस्तै दोस्रो समूह (२४–५९ महिना) तर्फ निश्चल चौधरी प्रथम, अवान्तिका सुवेदी द्वितीय र प्रतिक चापागाईं तृतीय भएको स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनु भयो । विजेता बालबालिकालाई मेडल, प्रमाणपत्र, एक क्यारेट अण्डा तथा पोषण सामग्री प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, ‘सुनौलो हजार दिन’ का आमाहरू तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


पन्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दघाट स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपाने, बेस नेपाल नवलपरासीका कार्यक्रम संयोजक शालिकराम पोखरेल, नगर पोषण सहजकर्ता रिता काफ्ले लगायतको उपस्थिति रहेको थियो।