प्रकाश न्यौपाने
जेठ १३ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलिया मा लैङ्गिक समानता सम्बन्धी सचेतना अभिवृद्धि तालिम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास संस्था को आयोजनामा बुधबार सम्पन्न तालिममा ४६ जना सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
महिला तथा सीमान्तकृत समुदायको नेतृत्व क्षमता विकास गर्ने र नीति निर्माण प्रक्रियामा समावेशी सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा महिला, अपाङ्गता भएका व्यक्तिहरू, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, दलित, आदिवासी जनजाति, मधेशी तथा मुस्लिम समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिमला परियार ले सहजीकरण गर्दै लिङ्ग (Sex) र जेन्डर (Gender) बीचको भिन्नता, लैङ्गिक समानता र समता, लैङ्गिक हिंसा तथा विभेद, नेपालको संविधान र कानुनमा भएका प्रावधान तथा स्थानीय सरकारको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । उहाँले महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिताबिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै समुदायस्तरमै सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।
तालिमका क्रममा सहभागीहरूले आफ्ना समुदायमा देखिएका लैङ्गिक हिंसा, विभेद तथा सामाजिक असमानतासम्बन्धी अनुभव साझा गरेका थिए । साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको दायित्व, योजना तथा बजेट प्रक्रियामा सहभागिता, सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण तथा सामूहिक पैरवीका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा वडा सदस्य दीप कुमारी चौधरीले महिलाहरूले लैङ्गिक हिंसा सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाहरू आर्थिक रूपमा सक्षम भए मात्र आत्मनिर्भर र सशक्त बन्न सक्ने भन्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै समुदायस्तरमा थप जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले महिला तथा सीमान्तकृत समुदायलाई सशक्त बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए ।












