पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० को वडा कार्यालयको नयाँ प्रशासनिक भवनको सोमबार एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। वडाबासीलाई सहज, छिटो र छरितो रूपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण सम्पन्न उक्त भवनको औपचारिक उद्घाटन भएको हो।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिक्रम खनालले बोल्दै” स्थानीय सरकारको उपस्थिति नागरिकले वडा कार्यालयबाटै महसुस गर्ने भएकाले आगामी दिनमा प्रवाह हुने सेवालाई थप छिटो, छरितो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको सबैभन्दा नजिकको र पहिलो सेवा बिन्दु नै वडा कार्यालय भएको उल्लेख गर्नुभयो ।कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरभित्रका सबै वडाका भौतिक पूर्वाधार चुस्त बनाएर सेवा प्रवाहलाई प्रविधिमैत्री र जनमुखी बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो।
त्यसैगरी बर्दघाट नगरपालिकाका संस्थापक नगर प्रमुख धिरज शर्मा बस्यालले विगतमा जग बसालेका योजनाहरूले पूर्णता पाउँदै गएकोमा खुसी व्यक्त गर्दै नयाँ भवनबाट जनताले झन्झटमुक्त सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले प्रशासनिक कामलाई चुस्त राख्न र कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न भौतिक पूर्वाधारले ठूलो भूमिका खेल्ने धारणा राख्नुभयो।वडा अध्यक्ष राजु मिश्राको सभापतित्वमा सम्पन्न भएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन वडा सचिव निरुता सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ भवन निर्माण सम्पन्न भएसँगै वडा नं. १० का नागरिकहरूले थप सुविधायुक्त वातावरणमा प्रशासनिक सेवाहरू प्राप्त गर्नेछन्।












