सीमावर्ती क्षेत्रमा तनाव बढ्दै, तालिबान र पाकिस्तानबीच फेरि सैन्य गतिविधि ।

प्रकाशित मिति:

असार १७ –   अफगानिस्तान र पाकिस्तानबीचको सीमावर्ती क्षेत्रमा फेरि तनाव बढेको छ । तालिबान नेतृत्वको अफगान सरकारले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा प्रतिकारात्मक आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएको तालिबान प्रशासनले जनाएको छ ।

यता पाकिस्तानी सेनाले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चार वटा (नन–सैन्य) ड्रोन खसालिएको दाबी गर्दै कुनै पनि उक्साहटपूर्ण गतिविधिको कडा जवाफ दिइने चेतावनी दिएको छ। दुवै पक्षका यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

यो तनाव पाकिस्तानले आइतबार अफगानिस्तान भित्र गरेको हवाई आक्रमणपछि थप चर्किएको हो। संयुक्त राष्ट्रसंघका अनुसार उक्त आक्रमणमा कम्तीमा २८ सर्वसाधारणको ज्यान गएको थियो । तर तालिबान सरकारले भने पाकिस्तानले आवासीय बस्तीलाई नै निशाना बनाएको आरोप लगाउँदै ३६ सर्वसाधारणको मृत्यु भएको र १६० भन्दा बढी व्यक्ति घाइते भएको दाबी गरेको छ ।

केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको अफगानिस्तान–पाकिस्तान सीमामा फेरि हिंसात्मक गतिविधि बढ्न थालेको हो । गत वर्ष अक्टोबरमा धेरै सातासम्म चलेको रक्तपातपूर्ण झडपपछि दुवै देश युद्धविराममा सहमत भएका थिए । तर पछिल्ला घटनाले त्यो सहमति कमजोर बन्दै गएको संकेत गरेको छ ।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले आफ्नो भूमिमा पाकिस्तानविरुद्ध सक्रिय आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तालिबान सरकारले भने यस्तो आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । पछिल्ला घटनाक्रमले दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्धी विवाद थप जटिल बन्ने संकेत देखिएको छ ।