असार १९ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले प्रदान गर्ने ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट ९बिपिए० अवार्ड–२०२५’ अन्तर्गत गरिमा विकास बैंक लिमिटेड विकास बैंक समूहबाट सिल्भर अवार्डबाट सम्मानित भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय तथा लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा विकास बैंक समूहबाट गरिमा विकास बैंकलाई यो सम्मान प्रदान गरिएको हो । आइक्यानले वार्षिक प्रतिवेदनमा समेटिएका पारदर्शिता, उत्तरदायित्व, सुशासन, वित्तीय विवरणको स्पष्टता तथा सूचना प्रकटीकरणका मापदण्डलाई आधार बनाएर उत्कृष्ट संस्थाको छनोट गर्दै आएको छ ।
यस सम्मानसँगै गरिमा विकास बैंकले वित्तीय सुशासन, पारदर्शी व्यवस्थापन र उत्तरदायी बैंकिङ अभ्यास प्रति आफ्नो प्रतिबद्धतालाई पुनः स्थापित गरेको जनाएको छ ।
हाल गरिमा विकास बैंकले देशभर फैलिएका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवा मार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।













