सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न गृहको निर्देशन

प्रकाशित मिति:

श्याम बुचा-​पश्चिम नवलपरासीको सीमावर्ती सुस्ता क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको भन्दै गृह मन्त्रालयले त्यस क्षेत्रमा तत्काल थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।​केही समयअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) बिना सूचना नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयस्तरमा बढेको तनाव र हालै सुस्तावासीले काठमाडौँको माइतीघरमा सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्दै गृहले यस्तो कदम चालेको हो ।​मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रअनुसार, असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्याबारे भएको छलफल तथा असार १९ गतेको सचिवस्तरीय निर्णयका आधारमा यो निर्देशन जारी गरिएको हो ।
​मन्त्रालयको निर्देशनका मुख्य बुँदाहरू:

​१.सुरक्षा फौजको थप परिचालन: सुस्ता क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक र रणनीतिक स्थानहरूमा तत्काल थप सुरक्षाकर्मी परिचालन गर्ने ।​२.नागरिकता समस्या समाधानका लागि लामो समयदेखि सुस्तामा बसोबास गर्दै आए पनि नागरिकता नपाएका वास्तविक नेपाली नागरिकहरूको पहिचान गरी प्रोफाइल तयार गर्ने, नागरिकता बाट बन्चित ब्यक्तिलाई नागरिकता नियमावली पूरा गरि नागरिकता प्रदान गर्ने र विद्यमान ऎन नियमको आधारमा नागरिकता प्रदान गर्न नसकिएको देखिएको हकमा आधार र कारण सहित नितिगत पहल गर्नको लागि मन्त्रालयलाई लेखी पठाउन गृहमन्त्रालयले निर्देशन गरेको उल्लेख छ ।