एसईई ग्रेडवृद्धि नतिजा सार्वजनिक ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ७ जनाको परीक्षा रद्द ।

प्रकाशित मिति:

असार २३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार परीक्षामा सहभागी भएका १ लाख २९ हजार ११४ विद्यार्थी मध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो ।

जीपीएका आधारमा हेर्दा सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४0 देखि २.८0 सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै, १६ हजार ४६७ जनाले २.८0 देखि ३.२0, १४ हजार ३६२ जनाले २.00 देखि २.४0, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् ।

बोर्डका अनुसार ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने कुनै पनि विद्यार्थी छैनन् ।

बोर्डले नतिजा आफ्नो वेबसाइट, आईभीआर तथा एसएमएस र यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । साथै नतिजामा चित्त नबुझेका विद्यार्थीले बोर्डले तोकेको अवधि भित्र अनलाइन मार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसैबीच परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । बोर्डले परीक्षा प्रणालीलाई थप पारदर्शी, मर्यादित र विश्वसनीय बनाउन आवश्यक अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।