असार २३ । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिह्नको अनधिकृत र व्यक्तिगत प्रयोगबारे विभिन्न टिका टिप्पणी तथा गुनासो आएपछि देशभरका आफ्ना मातहतका संरचनालाई कडा निर्देशन जारी गरेको छ ।
नेरेसोले जारी गरेको परिपत्रमा रेडक्रसका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिह्न व्यक्तिगत, पारिवारिक, व्यावसायिक, राजनीतिक वा अन्य कुनै गैर मानवीय प्रयोजनका लागि प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट उल्लेख गरिएको छ ।
संस्थाका अनुसार रेडक्रसको लोगो वा चिह्न अंकित सवारी साधन पदाधिकारी, सदस्य तथा कर्मचारीले केवल मानवीय सेवासँग सम्बन्धित कार्यमा मात्र प्रयोग गर्नुपर्नेछ । राहत वितरण, उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा तथा अन्य संस्थागत मानवीय कार्यबाहेक अन्य प्रयोजनमा यस्ता साधन प्रयोग गर्न नपाइने जनाएको छ ।
नेरेसोले रेडक्रसका सवारी साधन वा एम्बुलेन्सको व्यक्तिगत काममा प्रयोग भएको वा रेडक्रस चिह्नको दुरुपयोग भएको जानकारी भए तत्काल केन्द्रलाई सूचित गर्न पनि सबैसँग आग्रह गरेको छ ।
संस्थाले रेडक्रसको विश्वसनीयता, तटस्थता र मानवीय मूल्य मान्यतालाई कायम राख्न सबै निकाय र सम्बन्धित व्यक्तिले जारी निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ ।









