पब्लिक लिमिटेडमा जाँदै ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता
काठमाडौं, असार सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने भएको छ। यसका लागि कम्पनीले प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ)को तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन (इश्यु म्यानेजमेन्ट) सम्बन्धी सम्झौता गरेको छ ।सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईजी सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए ।उनले नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापनलाई संस्थाको प्रमुख सेवामध्ये एक भएको बताए ।
खनालले सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको बताए । उनका अनुसार हाल अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमै केन्द्रित रहेकाले कम्पनीहरूले पुँजी बजारमार्फत लगानी जुटाउने प्रवृत्ति बढाउन आवश्यक छ ।उनले उद्यमी तथा कम्पनीहरूलाई शेयर बजारमार्फत पूँजी संकलन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ईजी सोलारसँग भएको सम्झौता त्यसै दिशामा महत्वपूर्ण कदम भएको बताए ।









