प्रचण्डलाई रुपन्देहीका पत्रकारहरुको ज्ञापनपत्र

प्रकाशित मिति:

सबलपोस्ट/ बुटवल

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु तथा पत्रकारिता क्षेत्रमा योगदान पुयाएका बिभिन्न ब्यक्तित्वहरुको एक समूहले नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।सञ्चार उद्योग, प्रकाशक, सम्पादक, संवाददाता र मिडियामा कार्यरत कर्मचारीहरुको पेसागत सुरक्षा, विश्वसनीयता, आत्मविश्वास र समृद्धिका विषयमा सरकार र जिम्मेवार राजनीतिक दलहरु गम्भिर हुनुपर्ने उल्लेख गर्दै बुटवलमा सो समूहले प्रचण्डलाई भेट गरी आइतबार ज्ञापन पत्र बुझाएको हो ।दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक एवं पब्लिसर्स एशोसियसन अफ नेपाल(पान)का अध्यक्ष बालकृष्ण चापागाईंको नेतृत्वमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु हरि लम्साल, विनोद पहाडी, दीपक ज्ञवाली,दैनिक पत्रका प्रबन्ध सम्पादक ऋषि आजाद, नेपाल टेलिभिजनका पत्रकार हरिश ढकाल, रेडियो नमस्तेका डायलसन अधिकारी, गौतमबुद्ध सन्देशका सम्पादक टोपराज शर्मा र रिपोटर्स क्लव नेपाल रुपन्देहीका अध्यक्ष प्रकाश खनाल लगाएतको एक टोलीले पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा अहिले तीन तहका स्वशासित सरकारहरु अत्यन्त शक्तिशाली भएको उल्लेख गर्दै परिवर्तित अवस्थामा आधारभूत जनताका बीच पुग्दा र बुझ्दा जनता वर्तमान सरकारको कार्यबाट सर्वसाधारण जनता त्यति सन्तुष्ट नदेखिएको भन्दै सुशासन र पारदर्शितामा ध्यान दिनु पर्ने कुरामा जोड दिइएको छ ।ज्ञापन पत्रमा परिवर्तित सन्दर्भमा नयाँ निर्माण हुँदै गरेका ऐन कानुनहरु संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत बनेका र बन्ने क्रममा रहेको चर्चा गर्दै यस तर्फ राजनीतिक दल र सरकारको ध्यान जान जरुरी रहेको उल्लेख गरिएको छ ।

सञ्चार उद्यमहरु बलियो र विश्वसनीय भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने कुरा उल्लेख गर्दै ज्ञापन पत्रमा पछिल्लो समयमा सञ्चार क्षेत्रमा हात बढाउने र लगानी गर्नेहरु सरकारको गलत नीतिका कारण धराशायी हुने अवस्था सिर्जना भएको भन्दै सञ्चार–उद्यमबाट लगानीकर्ताहरु क्रमशः बाहिरिन खोजेकोले यस तर्फ ध्यान पु¥याउन पूर्व प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरिएको हो ।