बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीलाई उद्धार सामग्री उपलब्ध

प्रकाशित मिति:

पुरुषोत्तम सुवेदी-पश्चिम नवलपरासी, असार २७ गते । वर्षायामको सुरुवातसँगै हुन सक्ने सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले विपद् पूर्वतयारीलाई तीव्र पारेको छ । विपद्को समयमा तत्काल उद्धार कार्यलाई प्रभावकारी र द्रुत बनाउने उद्देश्यले नगरपालिकाले आवश्यक आधुनिक उद्धार सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको हो ।नगरपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने उद्धार डुंगा , लाईफ ज्याकेट, र हेलमेट लगायतका सामग्रीहरू सशस्त्र प्रहरी बल नेपाल नं। २६ गण हेडक्वाटर पश्चिम नवलपरासीलाई हस्तान्तरण गरेको छ ।

सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख धनपत यादवले विगतका अनुभवबाट सिकेर यो कदम चालिएको बताउनुभयो। नगर प्रमुख यादवले भन्नुभयो— ूवर्षायाम सुरु भइसकेको छ र हाम्रो यस क्षेत्रमा बाढी तथा डुबानको जोखिम सधैँ उच्च रहने गर्दछ। विगतका विपद्जन्य घटनाहरूमा हामीले समयमै उद्धार सामग्री नहुँदा निकै कठिनाइ भोगेका थियौँ। त्यसैले, सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनु स्थानीय सरकारको पनि दायित्व हो भन्ने बुझेर डुंगा , सहितका सामग्री उपलब्ध गराइएको छ । यो ‘रेस्क्यु बोट’ र उद्धार सामग्रीले विपद्को घडीमा नगरवासीको जिउधनको रक्षा गर्न र तत्काल उद्धार कार्यलाई तीव्रता दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु।

नगरपालिकाबाट प्राप्त सामग्रीले विपद्को समयमा उद्धार टोलीलाई कार्यक्षेत्रमा खटिन थप हौसला र मद्दत मिल्ने सुरक्षा निकायको भनाइ छ। सशस्त्र प्रहरी बल नेपाल नं। २६ गणका सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले भन्नुभयो ूविपद् व्यवस्थापन र उद्धार कार्यमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायका लागि पर्याप्त र आधुनिक सामग्रीको उपलब्धता अनिवार्य हुन्छ। रामग्राम नगरपालिकाले समयमै जोखिमको पहिचान गरी उद्धार डुंगा, हेलमेट र लाइफ ज्याकेट उपलब्ध गराएर सह्रानीय कार्य गरेको छ। यसले सशस्त्र प्रहरी बलको उद्धार क्षमतालाई थप मजबुत बनाएको छ। वर्षायाममा आउन सक्ने सम्भावित बाढी र डुबानको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र तत्काल उद्धार कार्यमा खटिन हाम्रो टोली चौबीसै घण्टा तयारी अवस्थामा रहनेछ।ू

स्थानीय प्रशासन र सुरक्षा निकायबिचको समन्वयले मात्रै प्राकृतिक विपत्तिको न्यूनीकरण र सफल व्यवस्थापन सम्भव हुने प्रशासनिक बुझाइ छ। रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत राजु ढकालले भन्नुभयो ूनगरपालिकाले विकास निर्माणसँगै नागरिकको सुरक्षा र विपद् व्यवस्थापनलाई उत्तिकै प्राथमिकतामा राखेको छ। विपद्को पूर्वतयारी स्वरूप द्रुत उद्धारका लागि आवश्यक बजेट र व्यवस्थापकीय कार्य मिलाएर यी सामग्रीहरू खरिद गरी हस्तान्तरण गरिएको हो। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारबिचको बलियो समन्वयले मात्र विपद्को सामना गर्न सकिन्छ। आगामी दिनमा पनि विपद् व्यवस्थापन कोष र योजनाहरू मार्फत नगरपालिकाले यस्ता पूर्वतयारी र उद्धारका कार्यहरूलाई निरन्तरता दिनेछ।वर्षायाममा सुरक्षित रहन र बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाउन यो ‘रेस्क्यु बोट’ र अन्य सुरक्षा सामग्रीहरू कोसेढुङ्गा सावित हुने विश्वास स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले लिएका छन्।