रुपन्देहि जिल्लाको तिलोत्तमा नगरपालिका–१५, कोटियाबास्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।संस्थाको नियमित सामाजिक कार्यक्रमअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, शेयर सदस्य, कर्मचारी तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सङ्कलन गरिएको ३१ युनिट रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ। सङ्कलित रगतले आकस्मिक उपचार तथा विभिन्न रोगका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
रक्तदान कार्यक्रमका संयोजक प्रकाश भट्टराईले संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै रक्त अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको धारणा व्यक्त गरे। स्सहकारी संस्थाले आर्थिक कारोबारसँगै सामाजिक सेवामूलक गतिविधिलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। स्थानीय समुदायमा सामाजिक सद्भाव र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने संस्थाले जनाएको छ।








