दुई जनाको ज्यान लिएको ‘धुर्बे’ अब स्याटलाइट निगरानीमा ।

प्रकाशित मिति:

असार ३२ ।  दुई जनाको ज्यान लिएपछि खोजीको केन्द्रमा रहेको जंगली भाले हात्ती ‘धुर्बे’लाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले १० दिनपछि फेला पारी स्याटलाइट प्रविधिमा आधारित ट्र्याकिङ कलर जडान गरेको छ ।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार बुधबार राति करिब १०:३० बजे निकुञ्जको पश्चिम क्षेत्र स्थित सुखिभार पोस्ट नजिक ‘धुर्बे’ फेला परेपछि डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । त्यसपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जडान गरिएको र दाह्रा पनि काटिएको उनले जानकारी दिए ।

स्याटलाइट कलर जडान गरिएपछि हात्तीको गतिविधि कम्प्युटर वा मोबाइलमार्फत निरन्तर निगरानी गर्न सकिनेछ । हात्ती बस्ती नजिक पुगेमा तत्काल निकुञ्जको टोली परिचालन गरी पुनः जंगलतर्फ फर्काउने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।

‘धुर्बे’ले असार २० गते मध्यराति भरतपुर महानगरपालिका २३, जगतपुर बेलहठ्ठामा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो । आक्रमणमा आमा छोराको घटनास्थलमै मृत्यु भएपछि हात्तीलाई नियन्त्रणमा लिन व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो ।

निरन्तरको वर्षा, घना जंगल र बढेको झाडीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको निकुञ्जले जनाएको छ । खोजी अभियानमा निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरखा गण र राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका प्राविधिकहरू संयुक्त रूपमा परिचालित थिए ।

निकुञ्जका अनुसार ‘धुर्बे’को घाँटीमा स्याटलाइट ट्र्याकिङ कलर जडान गरिएको यो चौथो पटक हो ।