श्रीमतीको हत्या आरोपमा ५६ वर्षीय पुरुष पक्राउ ।

प्रकाशित मिति:

साउन २ ।  सङ्खुवासभाको मादी नगरपालिका ४ डाँडागाउँमा घरायसी विवाद हिंसात्मक बनेपछि एक महिलाको ज्यान गएको छ ।

घटनामा संलग्न रहेको आरोपमा ५६ वर्षीय अमरबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चैनपुर नगरपालिका ७ स्थायी घर भएका तथा हाल मादी ४ डाँडागाउँमा बस्दै आएका अमरबहादुरले शनिबार बिहान करिब ६ बजे आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेल माथि खुकुरी प्रहार गरेका थिए । गम्भीर चोट लागेकी फुलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अमरबहादुर आफैं मादीस्थित मङ्लबारे प्रहरी चौकीमा पुगेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गर्दै अमरबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि ओखरबोट स्थित मादी नगर अस्पतालमा राखिएको छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।