२ साउन । नेपाली कांग्रेसले आफ्नो संस्थापक नेता बीपी कोइराला को ४४ औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तन बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रमहरूको घोषणा गरेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ६ मा जलवायु जनचेतना जगाउन जुटौं भन्ने नाराका साथ ५ किलोमिटर दौड प्रतियोगिता, जलवायु परिवर्तनसम्बन्धी प्यानल छलफल तथा लाइभ पेन्टिङ कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बिहान ६ बजे ललितपुर स्थित यूएन पार्कबाट सुरु हुने दौड जावलाखेल सम्म पुग्नेछ । प्रतियोगितामा प्रतिस्पर्धात्मक धावकका साथै सर्वसाधारणको सहभागिता पनि रहने व्यवस्था गरिएको छ ।
दौड सम्पन्न भएपछि बिहान ७ बजे जावलाखेल चोकमा जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी विषयमा प्यानल छलफल आयोजना गरिनेछ । कार्यक्रममा वातावरण, नीति तथा विकास क्षेत्रका विज्ञहरूले जलवायु परिवर्तनका असर, नेपालले भोगिरहेका चुनौती र सम्भावित समाधानबारे विचार राख्ने अपेक्षा गरिएको छ ।
यससँगै कार्यक्रम स्थलमै कलाकारहरूले जलवायु परिवर्तनका प्रभाव, प्रकृति संरक्षण र वातावरणीय सन्देश झल्किने चित्रहरू प्रत्यक्ष रूपमा कोर्ने लाइभ पेन्टिङ कार्यक्रम पनि सञ्चालन हुनेछ ।
आयोजकका अनुसार कला र संवादमार्फत जलवायु परिवर्तनको विषयलाई सर्वसाधारण सम्म प्रभावकारी ढंगले पुर्याउने लक्ष्य राखिएको छ ।
नेपाली कांग्रेसले यस वर्ष बीपी कोइरालाको स्मृति दिवसलाई केवल श्रद्धाञ्जलीमा सीमित नराखी, समाजमा बढ्दो जलवायु संकटबारे सचेतना फैलाउने अवसरका रूपमा मनाउने जनाएको छ ।









