वि.पी. स्मृति दिवसको अवसरमा सुरक्षा आवासमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

प्रकाशित मिति:

बुटवल, साउन ७ । वि.पी. विचार राष्ट्रिय समाज, जिल्ला कार्य समिति, रूपन्देहीले ४४औँ वि.पी. स्मृति दिवसको अवसरमा हिंसा प्रभामहिला तथा बालबालिकाका लागि सञ्चालित तिलोत्तमा नगरपालिका–६, गणेशपुरस्थित सुरक्षा आवास (सेफ हाउस) मा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।समाजका जिल्ला सभापति इन्जिनियर यललाल पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले वि.पी. कोइरालाले प्रतिपादन गर्नुभएको मानवतावादी सोचलाई व्यवहारमा उतार्ने कार्य नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। उहाँले हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षण र सशक्तीकरणमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा समाजका सल्लाहकार इन्जिनियर कुसुम ज्ञवालीले वि.पी. कोइरालाको समाजसेवा, लोकतन्त्र र मानव अधिकारप्रतिको योगदान स्मरण गर्दै सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।सभापति इन्जिनियर यललाल पाण्डेयले समापन मन्तव्य व्यक्त गर्दै वि.पी. को विचारलाई केवल स्मरणमा सीमित नराखी सामाजिक सेवामार्फत व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन समाजका महासचिव बिनोद घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, सल्लाहकार तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममार्फत सुरक्षा आवासमा आश्रित महिला तथा बालबालिकालाई आवश्यक खाद्यान्न र शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।