अफिन लुम्बिनीमा नयां नेतृत्व चयन

प्रकाशित मिति:

साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले व्यवहारमा कार्यान्वयन गर्न नसकिने कानुन र नीतिहरू बनाउनुको कुनै औचित्य नहुने बताएका छन् । कानुन बनाउनेभन्दा पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने वातावरण तयार गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउन व्यवहारिक कानुन निर्माण आवश्यक रहेको बताएका हुन्। शनिबार दाङको भालुवाङमा एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लुम्बिनी प्रदेशद्वारा आयोजित १२औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नेपालमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित धेरै कानुन, नीति र निर्देशिका बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको बताए। उनले कानुन निर्माण गर्दा त्यसको व्यवहारिक पक्ष, कार्यान्वयन क्षमता र जनताको आवश्यकता केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

उनले स्वास्थ्य क्षेत्रमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कानुन कागजमा सीमित हुने होइन, व्यवहारमा लागू हुने खालको हुनुपर्ने धारणा व्यक्त गरे। कार्यान्वयन हुन नसक्ने कानुनले सेवाग्राही, स्वास्थ्य संस्था र सरकार सबैलाई समस्या सिर्जना गर्ने भएकाले नीति निर्माण गर्दा व्यवहारिक पक्षलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले भोगिरहेका धेरै चुनौतीको जड संघीय सरकारबाट बनेका केही नीति र व्यवस्थामा रहेको बताए। संविधानले प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी दिएको भए पनि आवश्यक अधिकार, स्रोतसाधन र नीतिगत स्पष्टताको अभावका कारण अपेक्षित रूपमा काम गर्न कठिनाइ भइरहेको उनको भनाइ थियो। उनले संघीय सरकारसँग समन्वय गर्दै प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए। उनले प्रदेश सरकार निजी स्वास्थ्य संस्थासँग सहकार्य गरेर स्वास्थ्य सेवा विस्तार, गुणस्तर सुधार र नागरिकलाई सहज उपचार सेवा उपलब्ध गराउने पक्षमा रहेको स्पष्ट पारे। सरकारले समस्या थप्ने होइन, समाधान खोज्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालासँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए। मन्त्री घिमिरेले नेपालको समग्र विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्र सबल नभएसम्म मुलुकले अपेक्षित आर्थिक र सामाजिक विकास हासिल गर्न नसक्ने धारणा राखे।

उनले निजी स्वास्थ्य संस्थाहरूले उपचार सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिइरहेको बताए। निजी क्षेत्रलाई नियमन गर्ने नाममा अनावश्यक झन्झट सिर्जना गर्नु उचित नहुने उल्लेख गर्दै उनले सरकारले सहजीकरण गर्ने भूमिका खेल्नुपर्ने बताए। उनले सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धा नभई सहकार्य हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्रको साझेदारीबाट मात्र नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो। अफिन लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डा. पदम खड्का, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अफिनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि रिजाल, नेपाल औंषधी व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष तथा लुम्बिनीका सल्लाहकार बाबुराम भट्टराई, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष जेपी कंडेल, अफिन बाँकेका संस्थापक अध्यक्ष डा. विनोद थापा, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अफिन लुम्बिनी प्रदेश सदस्य विक्रम खड्काको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव केदारनाथ नेपालले गर्नु भएको थियोे । यसै बीच अफिन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा भिमप्रसाद तुलाचन निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा प्रकाश राना, कोषाध्यक्षमा विरू भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सरस्वता पन्थी, डा. दिपेश कुमार गुप्ता, विदुर बहादुर जिसी, माधव भण्डारी पनि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिएका छन् ।

थप समाचार