अमेरिकामा रगत आपूर्ति संकट गहिरियो, अस्पतालमा उपचार सेवा प्रभावित हुने जोखिम

प्रकाशित मिति:

साउन १४ । अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । देशको प्रमुख रक्त आपूर्ति संस्था अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षभन्दा लामो इतिहासमा दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको जनाएको छ ।

पछिल्लो समय डढेलो, अत्यधिक गर्मी र विभिन्न प्राकृतिक तथा स्वास्थ्यसम्बन्धी चुनौतीका कारण रक्तदान अभियान प्रभावित हुँदा रगत संकलनमा उल्लेख्य गिरावट आएको संस्थाले जनाएको हो ।

अमेरिकन रेडक्रसकी चिकित्सक डा. कोर्टनी लरेन्सका अनुसार पछिल्लो एक महिनामा मात्रै रगतको मौज्दात करिब २५ प्रतिशतले घटेको छ। गर्मीयाममा सडक दुर्घटना, बाहिरी गतिविधिका क्रममा हुने चोटपटक र आकस्मिक शल्यक्रियाको संख्या बढ्ने भएकाले अस्पतालहरूमा रगतको माग पनि उल्लेख्य रूपमा वृद्धि हुने गरेको उनले बताइन् ।

देशभर आवश्यक पर्ने रगतमध्ये करिब ४० प्रतिशत आपूर्ति गर्ने रेडक्रसले अहिले सामान्य अवस्थाको तुलनामा दैनिक करिब ३ हजार ५०० युनिट बढी रगत वितरण गरिरहेको जनाएको छ । माग बढ्दै जाँदा मौज्दात न्यूनतम स्तरमा झरेको संस्थाको भनाइ छ ।

रगत लामो समयसम्म सुरक्षित राख्न नसकिने भएकाले नियमित रक्तदान अत्यावश्यक रहेको डा. लरेन्सले बताइन् । उनका अनुसार दान गरिएको रगत ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्छ, अन्यथा रगतका कोशिकाको गुणस्तर घट्दै जान्छ ।

हाल सबै रक्तसमूहको रगत आवश्यक रहे पनि विशेषगरी ओ पोजिटिभ रक्तसमूहको अभाव बढी देखिएको छ । आपत्कालीन अवस्थामा बिरामीको रक्तसमूह तत्काल थाहा नभएको अवस्थामा यो समूहको रगत प्रयोग गर्न सकिने भएकाले यसको माग सधैं उच्च रहने गरेको चिकित्सकहरू बताउँछन् ।

रगतको अभाव लम्बिँदै गए नियमित शल्यक्रिया, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अस्पतालहरूले चेतावनी दिएका छन् । पर्याप्त रगत उपलब्ध नभए गम्भीर बिरामीलाई अन्य ट्रमा सेन्टरमा रिफर गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनाबारे पनि छलफल भइरहेको जनाइएको छ ।

रेडक्रसका अनुसार अत्यधिक गर्मीका कारण धेरै मानिस रक्तदान केन्द्रसम्म पुग्न हिच्किचाइरहेका छन्। केही स्थानमा निर्धारित रक्तदान कार्यक्रमसमेत सुरक्षित रूपमा सञ्चालन गर्न कठिन भएको छ । साथै डढेलो नियन्त्रणमा स्रोतसाधन परिचालन हुनु र विभिन्न खाद्यजन्य रोगका घटनाले पनि रक्त संकलन अभियानमा असर पुर्‍याएको संस्थाले जनाएको छ ।

यसअघि सन् २०२२ को जनवरीमा कोभिड–१९ महामारी र भीषण हिमपातका कारण अमेरिकन रेडक्रसले पहिलो पटक राष्ट्रिय स्तरमा रगत आपूर्ति संकट घोषणा गरेको थियो । अहिले फेरि उस्तै अवस्था दोहोरिएपछि रेडक्रसले योग्य नागरिकलाई तत्काल रक्तदान गर्न आग्रह गरेको छ ।