टिपरको ठक्करले कपिलवस्तुमा पैदलयात्रीको मृत्यु ।

प्रकाशित मिति:

साउन १४ । कपिलवस्तुको शिवराज नगरपालिका ५ दक्षिण रहटकोल क्षेत्रमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने व्यक्ति करिब ४५ वर्षका पुरुष रहेको अनुमान गरिएको भए पनि उनको पहिचान अझै खुल्न सकेको छैन ।

प्रहरीका अनुसार गएराति करिब ११ बजे सन्जिवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले पैदल हिँडिरहेका ती पुरुषलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो । उपचारकै क्रममा राति करिब १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

उल्लेखनीय रूपमा कपिलवस्तुमा पछिल्ला दुई दिनयता सवारी दुर्घटनाका घटना बढिरहेका छन् । यसअघि मंगलबार ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाएका थिए । लगातार भइरहेका यस्ता दुर्घटनाले सडक सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

थप समाचार