थारु पत्रकार संघ कपिलवस्तुको नेतृत्वमा पुनः सरिता थारु

प्रकाशित मिति:

पत्रकारितालाई थप सशक्त बनाउने प्रतिबद्धता

कपिलवस्तु, साउन १६ । थारु पत्रकार संघ नेपाल, जिल्ला शाखा कपिलवस्तुको पाँचौँ साधारण सभा तथा अधिवेशनले सरिता थारुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सरिता थारु लगातार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सृजना थारु, सहसचिवमा नरेश थारु, कोषाध्यक्षमा दीपक चौधरी तथा सदस्यहरूमा सुमन थारु, रञ्जिता थारु, अनिष चौधरी र हेमन्त चौधरी चयन हुनुभएको छ।

बुद्धआवाज सञ्चार गृहमा सम्पन्न अधिवेशनमा थारु पत्रकार संघ नेपालका केन्द्रीय उपमहासचिव कमल सिंह चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्यद्वय सुमित्रा थारु र उमाशंकर चौधरी तथा थारु पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष एवं जिल्ला सल्लाहकार श्याम सिटी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमल सिंह चौधरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै थारु समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारका सवाललाई पत्रकारितामार्फत अझ प्रभावकारी ढंगले उजागर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक विकास तथा संगठन सुदृढीकरणका लागि केन्द्रीय समितिले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशिष्ट अतिथि सुमित्रा थारुले पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएकाले थारु पत्रकारहरूले समुदायका वास्तविक समस्या, अवसर र मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। उहाँले महिला नेतृत्वले संस्थालाई थप ऊर्जाशील, उत्तरदायी र समावेशी बनाएको उल्लेख गर्दै नवनिर्वाचित नेतृत्वको सफलताको कामना गर्नुभयो।

अर्का विशिष्ट अतिथि उमाशंकर चौधरीले थारु पत्रकारहरूबीच एकता, समन्वय, पेशागत मर्यादा र उत्तरदायित्वलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै समुदायको हकहित र सामाजिक न्यायका पक्षमा जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभयो। निवर्तमान अध्यक्ष तथा जिल्ला सल्लाहकार श्याम सिटीले संस्थागत निरन्तरता, पत्रकारहरूको क्षमता विकास तथा संगठन विस्तारका लागि सबै सदस्यबीच सहकार्य र एकता आवश्यक रहेको बताउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष सरिता थारुले आफूलाई पुनः नेतृत्वको जिम्मेवारी दिएकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै दोस्रो कार्यकालमा संगठनलाई अझ सक्रिय, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, तालिम तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नुका साथै थारु समुदायका मुद्दा, भाषा, संस्कृति र पहिचानलाई स्थानीयदेखि राष्ट्रिय तहसम्म सशक्त रूपमा स्थापित गर्न नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो।