२४ साउन । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार देखि सम्पर्कविहीन भएपछि उनको खोजी तीव्र पारिएको छ । ६५ वर्षीय सिंहको खोजीमा नेपाल प्रहरी, तालिम प्राप्त कुकुर र स्थानीयवासी सहित ८० भन्दा बढी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगलभित्र फेला परेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान कपिलवस्तु नगरपालिका ३ स्थित घरबाट निर्माणाधीन कृषि फार्मतर्फ जाने भन्दै सिंह मोटरसाइकलमा निस्किएका थिए । सीसीटिभी फुटेजमा उनी दिउँसो करिब सवा ३ बजे रामराज पुलसम्म पुगेको देखिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।
त्यसपछि सिंहले आफन्तलाई मोबाइलमार्फत आफू ‘जंगलमा बाटो बिराएको’ जानकारी गराएको पाइएको छ । तर उनी हराएको सूचना भने शुक्रबार साँझ करिब ६ बजेपछि मात्रै प्रहरीसमक्ष पुगेको थियो।
कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजीका लागि प्रहरी टोलीले जंगल क्षेत्रमा व्यापक रूपमा खोजतलास गरिरहेको छ । साथै तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।
प्रहरीले सिंहको मोबाइलको कल डिटेल सहित अन्य प्राविधिक विवरणको विश्लेषण गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
सिंहको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवार सहित कपिलवस्तु नगरपालिका ३ मा बस्दै आएका थिए । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।








