कपिलवस्तुमै पहिलो पटक स्थानीय तहबाटै कर सेवा- बुद्धभूमिमा प्यान दर्ता र कर चुक्ता सुरु ।
डिलाराम भुसाल-कपिलवस्तु, २७ साउन-स्थानीय स्तरमै छिटो, छरितो र प्रविधिमैत्री सेवा दिने उद्देश्यका साथ बुद्धभूमि नगरपालिकाले नगरपालिकामार्फत नै आधारभूत कर सेवा प्रवाहको ऐतिहासिक शुभारम्भ गरेको छ । साउन २६ गतेदेखि सुरु भएको यो सेवासँगै अब नगरवासी तथा स्थानीय व्यवसायीहरूले नयाँ प्यान दर्ता, प्यान नवीकरण र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्नका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताएको छ ।यसअघि सामान्य कर चुक्ता वा प्यान दर्ता जस्ता कामका लागि पनि सास्ती खेप्दै कृष्णनगर वा तौलिहवा पुग्नुपर्ने बाध्यता रहेको थियो। बुद्धभूमि नगर पालिकामै कर सेवा उपलब्ध भएपछि स्थानीय उद्यमी र करदाताको समय तथा खर्च दुवै बचत हुने भएको छ ।नगरप्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित विशेष शुभारम्भ कार्यक्रममा जिल्लामै पहिलो पटक यस्तो अभ्यास गरिएकोमा खुसी व्यक्त गरिएको छ ।
हामीले नगरवासीलाई घरदैलोमै छिटो, सहज, पारदर्शी र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप यो कर सेवा सञ्चालनमा ल्याएको र यसले हाम्रा व्यवसायी र नागरिकलाई ठूलो राहत मिल्ने नगर प्रमुख केशवकुमार श्रेष्ठ, ले बताएका छन् ।कार्यक्रममा सहभागी आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले यस कदमको प्रशंसा गर्दै स्थानीय तह र कर प्रशासनबीचको सहकार्यले नागरिकलाई वास्तविक सिंहदरबारको अनुभूति गराउने बताएका छन् ।कपिलवस्तु जिल््लामै पहिलोपटक कुनै स्थानीय तहबाट यसरी आधारभूत कर सेवा प्रवाह सुरु हुनु आफैँमा ऐतिहासिक र प्रशंसनीय रहेको र यसले कर प्रशासनलाई थप प्रभावकारी, पहुँचयोग्य र पूर्ण रूपमा सेवाग्राहीमैत्री बनाउन ठूलो सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कृष्णप्रसाद न्यौपाने, ले बताएका छन् । उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे तथा कर अधिकृत पिताम्बर न्यौपानेको सहभागिता रहेको थियो। कर अधिकृत पिताम्बर न्यौपानेले प्यान दर्ता, नवीकरण, कर चुक्ता गर्ने प्रक्रिया र करदाताका दायित्वबारे जानकारी गराएको बताएको छ । स्थानीय तहमै कर सेवा सुरु भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा आम नागरिकमा खुसीयाली छाएको बताएको छ ।









