विद्यार्थीमार्फत समुदायमा सुरक्षित खानेपानी र सरसफाइको सन्देश पुर्याउदै बर्दघाट खानेपानी
प्रकाश न्यौपाने
साउन २९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विद्यार्थीमार्फत परिवार तथा समुदायमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी चेतना विस्तार गर्ने उद्देश्यले अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। संस्थाद्वारा गठित खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा शुक्रबार संस्थाको सभाहलमा बर्दघाट–४ बाढीपीडितस्थित नवजीवन माध्यमिक विद्यालय र मनकामना इङ्लिस बोर्डिङ स्कुलका कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको हो।कार्यक्रममा सुरक्षित खानेपानीको महत्व, पानीका स्रोत संरक्षण, पानीजन्य रोगको जोखिम न्यूनीकरण, व्यक्तिगत तथा सामुदायिक सरसफाइ, पानीको सुरक्षित भण्डारण र दिगो पानी व्यवस्थापनका विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।

कार्यक्रमका संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना टोलीका संयोजक एब कार्यक्रमका अध्यक्ष कमल थापाकोले खानेपानीको स्रोत संरक्षणदेखि उपभोक्ताको धारासम्म सुरक्षित पानी पुर्याउने प्रक्रियामा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो। पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सरसफाइसँगै घर, विद्यालय र समुदायको सरसफाइमा समेत विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
संस्थाका अध्यक्ष दीपक लम्सालले सुरक्षित र गुणस्तरीय खानेपानी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पानीको संरक्षण, शुद्धीकरण र उचित प्रयोगमा सबै सचेत हुनुपर्ने बताउनुभयो। खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापनका लागि उपभोक्ता, विद्यालय, समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथि एवम नवजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय रत्न पराजुलीको पराजुलीले विद्यार्थीमार्फत परिवार र समुदायसम्म खानेपानी तथा सरसफाइसम्बन्धी सकारात्मक सन्देश प्रभावकारी रूपमा पुर्याउन सकिने बताउनुभयो। विद्यालय तहदेखि नै खानेपानी, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी व्यवहारिक ज्ञान र चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो। त्यस्तै मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल ताराप्रसाद पन्तले विद्यार्थीलाई खानेपानी र सरसफाइसम्बन्धी व्यवहारिक ज्ञान तथा चेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो। कार्यक्रममा सिकेका कुरा विद्यार्थीले आफूमा मात्र सीमित नराखी टोल तथा समुदायमा समेत पुर्याउन सके सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माखर ढकाल ‘कृष्ण’ले सरसफाइलाई दैनिक जीवनको व्यवहारसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले हात धुने सही तरिका, खानेपानीको सुरक्षित भण्डारण, शौचालयको उचित प्रयोग तथा विद्यालय र घर वरपरको वातावरण सफा राख्न विद्यार्थीलाई आग्रह गर्नुभयो।
संस्थाका सहव्यवस्थापक प्रमोद अर्यालले कार्यक्रम सञ्चालन गर्दै संस्थाको स्थापना, हालसम्मको अवस्था, सेवा प्रवाह, खानेपानी उत्पादन तथा वितरण प्रणाली र संस्थाका गतिविधिबारे विद्यार्थीलाई जानकारी गराउनुभयो। नियमित, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन संस्थाले गर्दै आएका प्रयासबारे समेत उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले खानेपानीको शुद्धता, पानीका स्रोत संरक्षण, सरसफाइ, पानीको दिगो व्यवस्थापन तथा संस्थाले प्रदान गर्ने सेवासम्बन्धी विषयमा जिज्ञासा राखेका थिए। अन्तरक्रियापछि विद्यार्थीलाई संस्थाको वृक्षरोपण क्षेत्र, भूमिगत पानी उत्पादन क्षेत्र, कृत्रिम ताल, पुनर्भरण (रिचार्ज) पोखरी तथा पानी परीक्षण प्रयोगशालाको अवलोकनसमेत गराइएको थियो। यस क्रममा पानी उत्पादन, परीक्षण, भण्डारण तथा वितरण प्रक्रियाबारे विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिइएको थियो।
कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति, खानेपानी सुरक्षा योजना टोली, सम्बन्धित विद्यालयका शिक्षक, सञ्चारकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। आयोजक संस्थाले विद्यार्थीमार्फत परिवार तथा समुदायसम्म सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सकारात्मक सन्देश पुर्याउन सकिने भएकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









