नेतृत्व सिक्दै, आवाज उठाउन तयार हुँदै : फ्लीट लिडरको तीनदिने सशक्तीकरण तालिम सम्पन्न
बुटवल । नेतृत्व केवल पद वा जिम्मेवारीको नाम होइन, समुदायका समस्या बुझ्ने, विभेद र असमानताविरुद्ध आवाज उठाउने तथा सामूहिक परिवर्तनका लागि मानिसलाई एकताबद्ध गर्ने क्षमता पनि हो । यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्य सहित बुटवलमा सञ्चालन गरिएको महिला तथा युवाका लागि भावी नेतृत्व तथा कार्यकारी सशक्तीकरण सम्बन्धी तीनदिने तालिम शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
महाराजा रिसोर्ट, बुटवलमा सञ्चालन भएको उक्त तालिममा बर्दघाट नगरपालिका र सरावल गाउँपालिकाका २६ जना फ्लीट लिडरहरूको सहभागिता रहेको थियो। तालिम सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसन सेसी को आर्थिक सहयोग तथा प्रो–पब्लिकको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई नेतृत्वको अवधारणा, महिला नेतृत्व, सामूहिक तथा रूपान्तरणकारी नेतृत्व, लैङ्गिक समानता तथा समता, सामाजिक समावेशीकरण, मानव अधिकार, विभेद र सामाजिक पूर्वाग्रहलगायत विषयमा अन्तरक्रियात्मक सिकाइ प्रदान गरिएको थियो।
प्रशिक्षक गुणनिधि भुसालले मस्तिष्क मन्थन, समूहकार्य, अन्तरक्रिया र प्रस्तुतीकरणजस्ता सहभागीमुखी विधिबाट सहजीकरण गर्नुभएको थियो। तालिमको अन्तिम दिन प्रभावकारी वकालत, सन्देश निर्माण, सञ्चार तथा ‘एलिभेटर पिच’ सम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो। सहभागीहरूले समुदायका प्राथमिकताका मुद्दा पहिचान गरी सरोकारवालासमक्ष स्पष्ट, तथ्यमा आधारित र समाधानमुखी ढंगले प्रस्तुत गर्ने सीप विकास गरेका छन्।

समापन कार्यक्रम फ्लीट लिडर प्रशिक्षार्थीहरूको तर्फबाट मल्किका यादवको अध्यक्षता फ्लीट लिडर सहभागी सेविता कुँवर र अनुज मिश्राले तालिमबाट प्राप्त अनुभव साझा गर्नुभएको थियो भने जगवन्ती थारुले तालिमको समग्र समीक्षा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सेसीका लैङ्गिक तथा मानव अधिकार विज्ञ विन्दु शर्मा, प्रो–पब्लिकका प्रकाश दहाल, सिद्धार्थ सामाजिक विकास केन्द्रका सूचना संयोजक हरि अधिकारी, परियोजनाका लुम्बिनी प्रदेश संयोजक कमला शुक्ला तथा फाइनान्स अधिकृत निर्मल कुँवरलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले प्रशिक्षक, सहभागी तथा सहयोगी सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो ।









