न्युयोर्कमा महामन्त्री गुरुराज घिमिरेलाई जिपिके फाउन्डेसन अमेरिकाको स्वागत

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपिके फाउन्डेसन अमेरिका परिवारले न्युयोर्कको कुइन्सस्थित उडसाइडमा रहेको आफ्नै कार्यालयमा स्वागत गरेको छ।महामन्त्री घिमिरेसँगै उहाँकी धर्मपत्नी मीरा घिमिरे तथा महाधिवेशन सदस्य प्रभात ओझा (प्रविन) पनि कार्यक्रममा सहभागी हुनुभएको थियो। विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी तथा नेपाली कांग्रेसका शुभेच्छुकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा धादिङ समाज अमेरिकाका निवर्तमान अध्यक्ष टक रुवाली, जिपिके फाउन्डेसन अमेरिकाका कार्यसमिति सदस्यहरू राजेश आचार्य, सूर्य सिम्खडा, ध्रुव क्षेत्री कुँवर, प्रेम क्षेत्रीलगायत समाजसेवी अक्कल तामाङ, जीवन गुरुङ, सन्तोष भण्डारी तथा नेपाली कांग्रेससँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पूर्व प्रहरी उपरीक्षक दानबहादुर मल्लले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री गुरुराज घिमिरेले विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो मातृभूमिको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताउनुभयो। विश्वका विभिन्न देशका उदाहरण प्रस्तुत गर्दै उहाँले नागरिकता लिएर विदेशमा रहे पनि ज्ञान, सीप, अनुभव, प्रविधि तथा स्रोत–साधनलाई नेपालको हितमा उपयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो।उहाँले क्यानडालगायत विकसित देशहरूमा रहेका नेपालीहरूले हासिल गरेको ज्ञान र अनुभव नेपालका लागि उपयोगी हुनसक्ने बताउँदै प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।महामन्त्री घिमिरेले जिपिके फाउन्डेसन अमेरिकाले गर्दै आएका मानवीय तथा सामाजिक सेवाका कार्यहरूको प्रशंसा गर्नुभयो। विशेषगरी कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री, फलफूल, खोप, खाद्यान्न तथा विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराएर फाउन्डेसनले पुर्‍याएको योगदानको उहाँले सराहना गर्नुभयो।

उहाँले आगामी दिनमा पनि फाउन्डेसनले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै नेपाल र नेपालीको गौरव बढाउने कार्यमा निरन्तर योगदान गर्न आग्रह गर्नुभयो।कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले स्थानीय कानुन, नियम तथा सामाजिक मर्यादाको पूर्ण पालना गर्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।जिपिके फाउन्डेसन अमेरिकाका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले अमेरिकाको कानुनअनुसार गर्न हुने र नहुने विषयमा नेपाली समुदाय सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले नेपाल र अमेरिकाको कानुनी तथा सामाजिक परिवेश फरक रहेको उल्लेख गर्दै कानुनी शासन, अनुशासन र मर्यादाको पालना गर्दै सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्न सबैमा आग्रह गर्नुभयो।कार्यवाहक अध्यक्ष लामाले जिपिके फाउन्डेसन अमेरिका आगामी दिनमा पनि मानवसेवा, सामाजिक उत्तरदायित्व तथा अमेरिका, नेपाल, नेपालीलगायत सबै समुदायको हितमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।