मल्म पाण्डबखानी रमुवा मोटरबाटो कालोपत्रेको तयारीमा

प्रकाशित मिति:

सुरेश छन्त्याल-मल्म, पाण्डबखानी र रमुवा हुँदै रणसिंहकिटेनी जोड्ने मोटरबाटो कालोपत्रेको अन्तिम चरणमा पुगेको छ। संघीय बजेटबाट विनोजित ३३ करोड रुपैयाँको लागतमा यो सडक कालोपत्रे हुन लागेको छ ।​गल्कोट नगरपालिकाको हरिचौरस्थित बसाफाँटदेखि गल्कोट नगरपालिकाकै मल्म, पाण्डबखानी र रमुवा हुँदै रणसिंहकिटेनी जोड्ने मोटरबाटो कालोपत्रेका लागि आवश्यक पर्ने नाली निर्माण र मेसिनरी वाल लगाउने कामहरू अन्तिम चरणमा पुगेका छन्। अब छिट्टै कालोपत्रेको कामलाई अगाडि बढाइने तयारी भइरहेको निर्माण व्यवसायी होम थापाले जानकारी दिनुभएको छ।

सडक कालोपत्रे हुने तयारीले केही राहतको महसुस गराए पनि हालसम्म बाटोको उचित मर्मतसम्भार नहुँदा आफूहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयले गुनासो गरेका छन्। बाटोको दुरावस्थाकै कारण हटिया बजारदेखि पाण्डबखानीसम्मको गाडी भाडा अत्याधिक तिर्नुपरेको उनीहरूको भनाइ छ। यातायातको असुविधा र महँगो भाडाका कारण खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरू समेत अत्यधिक महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। नागरिकले भोगिरहेका यी विभिन्न समस्याहरूप्रति सम्बन्धित निकायको अझै पनि गम्भीर ध्यान पुग्न नसकेको उनीहरूको गुनासो छ। यता, गाडी भाडा महँगो भएको विषयमा चालकहरूको पनि आफ्नै किसिमको तर्क रहेको छ। नियमित रूपमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण नै गाडी भाडा बढाउन बाध्य हुनुपरेको चालकहरू बताउँछन्।​यस सडकको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले भोगिरहेको यातायात तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।