बर्दघाट खानेपानीद्रारा बाढिपिडितलाई ८६ हजार बढी सहयोग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ १६ गते
नवलपरासी — बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाद्रारा रसुवाका बाढिपीडितलाई ८६ हजार १६ रुपैयाँ सहयोग गरेको छ । संस्थाको कार्यसमितिको २०८३ भदौ १५ गते बसेको बैठकले बाढी तथा प्राकृतिक विपतद्बारा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको तर्फबाट ५१ हजार रुपैयाँ र संस्थाका कर्मचारी परिवारबाट ३५ हजार १६ रुपैयाँ गरी जम्मा ८६ हजार १६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।


संस्थाका अध्यक्ष दीपक लम्सालद्वारा जारी शोक वक्तव्यमा नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको हिमपहिरोपछि २०८३ भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी लगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।


बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यसबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। बाढीको प्रभाव नारायणी नदीसम्म आइपुग्दा नवलपरासीसहित नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।

संस्थाले बाढीपहिरोमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको जनाएको छ। संस्थाको सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा उपलब्ध गराइनेछ।


रसुवा भोटेकोशीमा आएको बाढीपछि त्रिशूली तथा नारायणी नदीमा समेत बाढीको प्रभाव देखिएको थियो। चितवन क्षेत्रमा नदीमा बाढीसँगै विभिन्न स्थानमा शवसमेत भेटिएका थिए भने नदी तटीय क्षेत्रमा उद्धार तथा शव व्यवस्थापनको काम अघि बढाइएको थियो। बाढीबाट भएको क्षतिको राहत तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था तथा निजी क्षेत्रले समेत आर्थिक तथा सामग्री सहयोग गर्दै आएका छन्।