बाढीपीडितका लागि पोर्चुगलबाट सेफ टंक सापकोटाले गरे ५१ लाख सहयोग

प्रकाशित मिति:

✍️भरत प्रधान

लिस्बन १९, भदौ । पोर्चुगलमा चर्चित नेपाली सेफ टंक सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ।

सापकोटाले बुधबार नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्नुभएको हो । सापकोटाले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिनुभयो । सापकोटाको सहयोगको प्रशंसा गर्दै राजदूत पौडेलले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उहाँले गर्नुभएको सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताउनुभयो। सङ्कटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाउनुभएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,” राजदूत पौडेलले भन्नुभयो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले आफ्नो परिवारको तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताउनुभयो। दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारको तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। 

“प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पु¥याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु।, हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ।, विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो,” सापकोटाले भन्नुभयो। प्राकृतिक विपद्ले जलवायु परिवर्तन तथा बढ्दो तापक्रमको गम्भीर असरलाई उजागर गरेको उल्लेख गर्दै सापकोटाले यसको असरबाट निर्दोष नागरिक र समुदाय नै सबैभन्दा बढी प्रभावित भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो।

विगत ३० वर्षदेखि सपरिवार पोर्चुगलमा बस्दै आउनुभएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ। पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आउनुभएका सापकोटाले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ। यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय सङ्कटका समयमा सहयोग गर्दै आउनुभएको छ। कोरोना महामारीका समयमा उहाँले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना समेत खुवाउनुभएको थियो।