विष्णु पोखरेलले देखाए आफ्नो शक्ति, शशांक कोइराला पक्षको शक्ति प्रदर्शनसहित कांग्रेस रुपन्देही–५ को अधिवेशन सम्पन्न

प्रकाशित मिति:

रुपन्देही। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन शक्ति प्रदर्शनसहित सम्पन्न भएको छ। शशांक कोइराला संयोजक रहेको कांग्रेस पक्षको अधिवेशनमा युवा नेता विष्णु पोखरेलले आफ्नो राजनीतिक प्रभाव र सांगठनिक शक्ति प्रदर्शन गरेका छन्।

अधिवेशनबाट क्षेत्रीय सभापतिमा कमलप्रसाद भुसाल निर्वाचित भएका छन्। त्यसैगरी, प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा तुलसीराम पोखरेल र क्षेत्र ‘ख’ को सभापतिमा इनामुल्लाहा मुसलमान निर्वाचित भएका छन्।

लुम्बिनीस्थित बुद्धमाया होटल प्यालेस, पर्सा चोकमा आयोजित अधिवेशनको उद्घाटन समारोहमा दामोदर भुसाल प्रमुख अतिथि रहेका थिए। अखण्ड लुम्बिनीका संयोजकसमेत रहिसकेका युवा नेता विष्णु पोखरेलको कांग्रेसभित्र राम्रो प्रभाव रहेको मानिन्छ। अधिवेशनमा देखिएको नेता–कार्यकर्ताको सहभागितालाई उनको सांगठनिक सक्रियता र राजनीतिक प्रभावसँग जोडेर हेरिएको छ।

कार्यक्रममा गुनाखर भुर्तेल, पूर्व प्रदेशसभा सदस्य रमा अर्याल, युवा नेता आशिष शर्मा, जिल्ला सहसंयोजक लीला कुमारी पौडेल र भरथरी यादवले मन्तव्य राखेका थिए। महासमिति सदस्य शेषमन यादवले पनि आफ्नो धारणा राखेका थिए। कार्यक्रममा खिमराज पोखरेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कृष्ण पोखरेलले गरेका थिए।

अधिवेशनमा वक्ताहरूले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको मजबुती तथा नेता–कार्यकर्ताबीच एकता र सहकार्यको आवश्यकतामा जोड दिएका थिए। युवा नेता विष्णु पोखरेलले नेपाली कांग्रेस मुलुकको राष्ट्रिय शक्तिका रूपमा मियो बनेर उभिने बताएका थिए। उनले पार्टीलाई बलियो बनाउँदै जनताका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।

यसैबीच, लुम्बिनी बचाउ अभियानका संयोजक अकरम खानसँग युवा नेता विष्णु पोखरेलले छलफल गरेका छन्। छलफलमा राजनीतिक नियुक्तिमा देखिएको बेथिति, राजनीतिक भागबन्डा तथा नियुक्ति प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको आवश्यकताबारे कुराकानी भएको जनाइएको छ।

रुपन्देही–५ को अधिवेशनलाई आगामी महाधिवेशनको तयारीसँगै पार्टीभित्रको सांगठनिक शक्ति र नेतृत्वको प्रभाव देखाउने अवसरका रूपमा हेरिएको छ। क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रका नयाँ नेतृत्व चयनसँगै कांग्रेसको स्थानीय राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।