इस्लाम त्यागेर अष्ट्रेलिया भागिरहेकी युवती एयरपोर्ट मै पक्राउ, हत्या हुने आशंका
एजेन्सी । साउदी अरबकी एक युवतीले आफू बैंककको मुख्य एयरपोर्टमा फसेको बताएकी छिन् । युवतीका अनुसार उनी आफ्नो परिवारलाई थाहै नदिई भागेर अष्ट्रेलिया जाने कोसिसमा थिइन् । राहफ मोहम्मद अल कुनन नामकी १८ वर्षे युवतीले दुई दिनअघि कुवेतबाट अष्ट्रेलिया जाने फ्लाइट समातेकी थिइन् । बैंककबाट उनले अष्ट्रेलियाको फ्लाइट लिनु थियो । उनका अनुसार साउदीका अधिकारीले उनको पासपोर्ट पनि जफत गरेका छन् ।
इस्लाम त्यागिन्ः
मोहम्मद अल कुननले इस्लाम त्यागेको र उनलाई जबर्जस्ती साउदी अरब पठाइदिने हो कि भन्ने डर भएको बताएकी छिन् । यदि यस्तो भए, उनलाई उनको परिवारले हत्या गरिदिने पनि उनले बताइन् । बैंककमा भएका बीबीसी संवाददाता जोनाथन हेडका अनुसार मोहम्मद अल–कुनन निकै डराएकी छिन् । मोहम्मद अल–कुननले आफूसँग अष्ट्रेलियाको भिसा भएको तर साउदीका एक कुटनीतिज्ञले उनको पासपोर्ट जफत गरेको बताएकी छिन् । बीबीसीको कार्यक्रम न्यूजआवरमा मोहम्मद अल–कुननले यतिबेला उनी ट्रान्जिट इलाकाको एक होटलमा भएको जानकारी दिइन् । उनले लगातार यसबारे ट्वीट गरिरहेकी छिन् । उनले भनिन्, ‘मैले आफ्नो कहानी र तस्बिर सोसल मिडियामा सार्वजनिक गरेकी छु । यसकारण मेरा पिता मसँग अत्यधिक रुष्ट छन् । म आफ्नो देशमा पढाई र काम गर्न सक्दिनँ । म स्वतन्त्र हुन चाहन्छु । पढ्न चाहन्छु, काम गर्न चाहन्छु ।’
थाइल्याण्ड पुलिसको दाबीः
यस्तै, अर्कोतर्फ थाइल्याण्डक पुलिसका अनुसार मोहम्मद अल–कुनन एउटा विवाहबाट भागिरहेकी थिइन् । थाइल्याण्ड पुलिसका मेजर जनरल सुराछते हकपर्नले बीबीसीलाई दिएको जानकारी अनुसार मोहम्मद अल–कुननसँग थाइल्याण्ड प्रवेश गर्ने भिजा थिएन त्यसकारण पुलिसले उनलाई प्रवेश गर्न दिएन । पुलिसले मोहम्मद अल–कुननलाई कुवेत एयरलाइन्समार्फत उनको देश फिर्ता पठाउने कोसिस भइरहेको छ । यद्यपी, मेजर जनरल सुराछतेले उनलाई मोहम्मद अल–कुननको पासपोर्ट जफत गरिएको बारे जानकारी नभएको बताए । जब मोहम्मद अल–कुनन थाइल्याण्डको बाटो हुँदै अष्ट्रेलिया जाँदै थिइन् र उनीसँग अष्ट्रेलियाको भिसा पनि थियो भने उनीसँग थाइल्याण्डको भिसा किन हुनुपर्यो भन्ने बारे पुलिसले स्पष्ट जानकारी दिन सकेन ।याद गर्नुपर्ने कुरा के छ भने साउदीका नागरिक जब थाइल्याण्ड पुग्छन् तब त्यहाँबाट पनि उनीहरुले भिसाको आवेदन दिन सक्छन् ।
परिवारको डरः
मोहम्मद अल–कुननले ट्वीटरमा आफ्नो नामलगायत सम्पूर्ण जानकारी सार्वजनिक गरेकी छिन् किनभने उनका अनुसार अब उनीसँग गुमाउनका लागि केही पनि छैन । उनले आफ्नो पासपोर्टको एउटा तस्बिर पनि ट्वीट गरेकी छिन् । एक ट्वीटमा उनले लेखेकी छिन्, ‘मलाई मेरो परिवारले मारिदिने हुन् कि भन्ने डर छ ।’












