जिपी कोइराला फाउण्डेशनको शाखा विस्तार

प्रकाशित मिति:

काठमाडौ ।नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ले स्वदेश तथा विदेशमा शाखा विस्तार गरेको छ। कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरेको हो । प्रतिष्ठानकी अध्यक्ष सुजाता कोइरालाले जिल्लास्तरसम्म शाखा विस्तार गर्ने उद्देश्यसाथ प्रतिष्ठानले अहिले सात प्रदेशमा शाखा विस्तार गरिसकेको बताइन्।प्रदेश समितिले सबै जिल्लामा गएर जिल्ला शाखा विस्तार गर्नेछ उनले भनिन्।

केन्द्रमा नौ सदस्यीय र प्रदेश तथा जिल्लामा १३ सदस्यीय कार्यसमिति विस्तार हुने प्रतिष्ठानले प्रदेश–१ मा इन्दिरा थापा, प्रदेश–२ मा डा सुवासचन्द्र यादव, प्रदेश–३ मा रीता खनाल, गण्डकी प्रदेशमा शारदा पौडेल, प्रदेश–५ मा डा गोविन्दराज पोखरेल कर्णाली प्रदेशमा रीता शाही र सुदूरपश्चिम प्रदेशमा चतुरबहादुर चन्दलाई संयोजक तोकेको छ । प्रदेश नं १ को विराटनगरमा कार्यालयसमेत स्थापना भइसकेको छ । अमेरिकामा सोमनाथ घिमिरे, मकाउ, हङकङलगायत एशियाली मुलुकका लागि सुदर्शन थापामगर, युएईका लागि चित्रा केसी र युरोपेली मुलुकका लागि सीता सापकोटालाई संयोजक तोकिएको प्रतिष्ठानले जनाएको छ । पूर्व प्रधानमन्त्री कोइरालाले शान्ति र प्रजातन्त्र स्थापनाका लागि गरेको कामलाई स्वदेश तथा विदेशमा फैलाउन प्रतिष्ठानले काम गर्ने अध्यक्ष कोइरालाले बताइन्। गिरिजाबाबुले गर्न बाँकी रहेका अधुरा कामलाई प्रतिष्ठानले पूरा गर्नेछ उनले भनिन्। स्वदेशी तथा विदेशी सङ्घसंस्थासँग सहकार्य गरेर मुलुकको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुका साथै गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने, अनुसन्धान गर्ने प्रतिष्ठानले जनाएको छ ।  प्रतिष्ठानले मुलुकभित्रको संस्कृतिलाई विश्वमाझ लैजानका साथै पर्यटन क्षेत्रको विकास गर्नसमेत काम गर्ने उनको भनाइ छ। रासस