राष्ट्रपति ट्रम्प र संसद्बीचको विवाद अझै टुंगिएन !

प्रकाशित मिति:

वासिङटन : अमेरिकामा संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच देखिएको विवाद साम्य हुन सकेको छैन। यसबाट ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय संकट बढेको बताएका छन्। बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। अमेरिकी संसद्ले पर्खाल निर्माण कार्य अनावश्यक र बढी खर्चिलो भन्दै ट्रम्पले माग गरेको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ।

राष्ट्रपतिले बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राखेका छन्। संसद् र राष्ट्रपतिका अडानका कारण विगत १८ दिनदेखि संघीय कार्यालयहरू बजेट अभावमा आंशिक बन्द भएका छन्। करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ। राष्ट्रपति ट्रम्पले मंगलवार राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिएको टेलिभिजन सम्बोधनमा भने, ‘यो संकट हृदयको अनुभव हो। त्यसैले समाधानका लागि उचित उपायको विकल्प छैन, यो सबैको संकट हो।’ ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, लागुऔषध भित्रिएको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको बताएका छन्।

विगतको तुलनामा केही नरम देखिएका राष्ट्रपति ट्रम्पले भने, ‘मैले संसद्का नेताहरूलाई छलफलका लागि ह्वाइट हाउसमा आमन्त्रण गरेको छु। आशा गर्दछु, राष्ट्रिय सुरक्षाका सन्दर्भमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुनेछौं। यो परिस्थितिको अन्त्य ४५ मिनेटको छलफलबाटै हुन सक्छ।’ मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै राष्ट्रपति ट्रम्पले यस पर्खालको निर्माणबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गरे।

राष्ट्रपतिको सम्बोधनलगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी संघीय कार्यालय बन्द राखेर नागरिकलाई बन्धक बनाएको आरोप लगाए। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा अल्पमतका नेता चक सुमरले पर्खालका लागि राष्ट्रपतिले माग गरेको रकम अनावश्यक रहेको दाबी गरे। दुबै नेताले राष्ट्रपतिले तत्काल संघीय कार्यालय खुला गर्नेतर्फ कार्य गर्नुपर्नेमा जोड दिए।