भीरकोटको ग्रामिण बस्तीमा आरामदायी डिलक्स बस, स्थानीयमा खुसीयाली

प्रकाशित मिति:

पौष २६,स्यांजा भीरकोट नगरपालिकाको ग्रामिण क्षेत्रमा डिलक्स बस सञ्चालनमा आएसंगै स्थानीयमा खुसीयाली छाएको छ । गण्डकी यातायात वस व्यवसायी समितिले नगरपालिकाको ग्रामिण बस्तीमा समेत डिलक्स बस सञ्चालमा ल्याएको हो । २९ जनाको सिट क्षमता भएको उक्त बस भीरकोट नगरपालिका सिद्धार्थ राजमार्ग वयरघारीबाट दभुङ्, डाँडाकोट, बानेथोक हुदैं देउरालीसम्म पुग्ने गरेको बसका संचालक भक्तबहादुर क्षेत्रीले बताउनुभयो । गोकेस, गुमार्दी, मालमुल हुदैं विरुवा सम्म बस संचालनमा ल्याउने योजना रहेको क्षेत्रीले बताउनुभयो । भीरकोट नगरपालिकाको संन्वयनमा ग्रामिण क्षेत्रमा समेत बस संचालमा आएको नगर प्रवक्ता दिपेन्द्र केसीले बताउनुभयो ।

भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले नागरिकलार्ई सहज यात्रा र सेवाका लागी ग्रामिण सडकस्तरोन्नति गरी प्रत्यक वडामा बस सञ्चालनमा ल्याउने बताउनुभयो । भीरकोट १, २, ३, र ४ वडाका स्थानीयलाई बसले सहजता ल्याएको छ । स्याङ्जाका ११ वटा स्थानीयतह नगरपालिकाको रुपमा रहको भीरकोट अधिकांश ग्रामिण क्षेत्रले ओगटेको छ ।
जनप्रतिनिधिहरु निवार्चित भएर आएसंगै नगरको विकास निर्माणले तिव्रता लिएको स्थानीयको भनाई छ । नगरका ९ वडा मध्ये १ र २ वडा बाहेकका सबै वडा ग्रामिण क्षेत्र हो । जनप्रतिनिधि आएको २ वर्ष हुनै लाग्दा स्थानीयलाई सहज मटरवाटो, पिउने पानी, स्वास्थ्य र शिक्षामा केहि परिर्वतन भएको छ ।

नगरलाई कृषि क्षेत्रबाट समृद्ध बनाउनका लागी एवं स्थानीयलाई व्यवसायीक कृषितर्फ आर्कषित गर्नका लागी अनुदानमा बिउबिजन, मौरीका घार तथा अन्य प्राविधिक सेवा समेत प्रवाह गरिएको छ । सेवाग्रहीका काम छिटो छरितोका लागी वडा कार्यालयमा ईन्टरनेट र नगरपालिकाले दिने सेवा, सुविधाका लागी मोवाईल एप्सको व्यवस्था समेत गरिएको छ । निर्माणाधिन अवस्थामा रहेको नगरको भवन, बसपार्क, ल्याण्डफिल्ड साईड र केही वडा कार्यालयका भवनहरुहरुले समेत नगर दु्रत गतिमा विकासतर्फ अगाडि बढेको देखिन्छ ।