एपीएफ सिमरा गोल्डकपको अन्तिम आठमा

प्रकाशित मिति:

बारा ( बिशाल मेमोरियल फाउण्डेशन वीरगञ्जलाई पराजित गर्दै विभागीय टोली एपीएफ क्लब सिमरामा जारी सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपीएफले वीरगञ्जलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। खेलको ३६ औं मिनेटमा एपीएफका लागि आशिष लामाले एकमात्रै विजयी गोल गरे। सुदिप शिखराकारले डिबक्स भित्र निकालेको क्रसमा आशिषले गोलपोष्टको जाली चुमाएका थिए। एपीएफ सामु तालमेल मिलाउन नसकेको वीरगञ्जले खेलको अन्तिम समयमा पाएको केही अवसर गुमाउन पुग्दा प्रतियोगिताबाटै वाहिरिन पुग्यो।

वीरगञ्जका प्रशिक्षक सुलभजंग राणाले बलियो विभागीय टिम विरुद्ध युवा खेलाडीले तालमेल मिलाउन नसकेको बताए। उनले गोल गर्ने अवसरहरुलाई खेलाडीहरुले सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको बताए। एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले धेरै गोलको अन्तरले विजयी हुनुपर्नेमा त्यस अनुसारको खेल खेलाडीहरुले देखाउन नसकेको बताए।प्रतियोगिता अन्तर्गत शनिबार सिएमजी संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ। सात ए डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछ।